खोटाङ/ हलेसी तुवाचुङ नगरपालिकाले गत असोज १२ गते सुनकोशीमा आएको भीषण बाढीले किसानका खेतमा थुपारेको गेगर पन्छाउन सहयोग सुरु गरेको छ । बाढीले थुपारेको बालुवा, गिट्टी र ढुङ्गा हटाएर पुनः खेती गर्न योग्य जमिन बनाउन नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।
सुनकोशीमा आएको बाढीले हलेसी तुवाचुङ नगरपालिकाको वडा नं २ डिकुवा, वडा नं ८ धितुङ र वडा नं ११ राजापानीका करिब एक सय ५० घरका स्थानीय किसानको करिब दुई सय ५० रोपनीभन्दा बढी खेत खण्डहर बनाएको छ ।
धितुङ र राजापानीको सिमानामा पर्ने भाडबेँसीका मात्रै ६० घर किसानको एक सय ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले ल्याएको गेगरले पुरिएको स्थानीयले बताएका छन् ।
भीषण बाढीका कारण पूर्ण क्षति व्यहोरेका राजापानीका ३१ घर किसानलाई गत असोजमै नगरपालिकाले सात हजार रुपैयाँको दरले राहत प्रदान गरेको थियो । आंशिक क्षति भएका किसानको भने खेतबारीमा थुप्रिएको गेगर नगरपालिकाको तर्फबाट जेसिबी लगाएर पन्छाइदिने निर्णय भएको थियो ।
बाढीले बगाएर ल्याएको गेगरले पुरिएका किसानको खेतबारीलाई पूर्ववत अवस्थामा फर्काएर खेती लगाउने वातावरण सृजना गर्न नगरपालिकाले जेसिबी प्रयोग गरेर बालुवा, गिट्टी र ढुङ्गा हटाइरहेको नगरप्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।
पूर्ण क्षति व्यहोरेका र आंशिक क्षति व्यहोरेका किसानको खेतबारीमा थुप्रिएको गेगर हटाउन नगरपालिकाले जेसिबी र आवश्यक डिजेल तथा अपरेटर उपलब्ध गराएको जनाइएको छ ।
असोजमा आएको भीषण बाढीले एउटै किसानको १५–२० रोपनी खेतबारी पुरिएको पाइएको नगरपालिकाले जनाएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको सुनकोशी आसपासका क्षेत्र खेतीयोग्य जमिनमा पर्दछ ।
गत असोज १२ गते अस्वभाविकरुपमा आएको बाढीले सुनकोशी आसपासका किसानलाई उठीबास बनाएकाले उनीहरुलाई पुनः स्थापित गराउन खेतबारीमा थुप्रिएको गेगर हटाउन सुरु गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो ।
‘असोज १२ गते आएको भीषण बाढीले हाम्रो नगरपालिकामा ठूलो क्षति गरेको छ । सबैभन्दा बढी सुनकोशी आसपासका किसानकाको खेतबारीमा क्षति गरेको छ । उनीहरूमध्ये केहीलाई राहतसमेत उपलब्ध गराएका छौँ’, उहाँले भन्नुभयो, ‘बाढीले क्षतिग्रस्त बनेको अधिकांश ठाउँमा बाँध हाल्नुपर्ने अवस्था देखिएको छ । त्यो काम नगरपालिकाबाट सम्भव छैन । त्यसका लागि माथिल्लो तहमा सिफारिस गरेका छौँ । तत्कालका लागि खेती गर्ने वातावरण मिलाउन नगरपालिकाको तर्फबाट गेगर हटाउने काम सुरु गरिएको छ ।’
पहिलो चरणमा भाँडबेँसीबाट सुरु गरिएको गेगर हटाउने काम क्रमशः रेग्मीटार हुँदै सबै ठाउँका किसानको खेतबारीमा गएर हटाइदिने नगरपालिकाले जनाएको छ । एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा बाढी तथा पहिरोले दर्जनौँ घर तथा विद्यालयमा क्षति गरेको थियो ।
चाडपर्वको पूर्वसन्ध्यामा आएको भीषण बाढीपहिरोले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री गुमाएर विस्थापित भएका उनीहरूमध्ये कतिपयले आफन्त, छिमेकी, विद्यालय तथा सार्वजनिकस्थलमा बसेर दसैँ मनाएका थिए ।
बाढीपहिरो विस्थापितलाई नगरपालिकाले राहतस्वरुप उपलब्ध गराएको सामान्य खानाका लागि दाल, चामल र नुनतेल तथा बस्नका लागि कम्बल र तन्नाबाहेक केही छैनन् ।
–रासस
प्रतिक्रिया दिनुहोस