२१ भदौ २०८२ शनिबार | 06 Sep 2025 Sat

नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम मूल्य



  • आफ्नै खबर
  • १५ माघ २०८१ मंगलबार (७ महिना अघि)
  • पाठक संख्या १४६
  • झापा/  विर्तामोड नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरेको छ । 

    नगरपालिका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाका अनुसार यसलाई कार्यान्वयन गराउन तीन दिनअघि कार्यपालिकाको बैठकले न्यूनतम समर्थन मूल्य अनुदान भुक्तानी कार्यविधि २०८१ समेत पारित गरेको छ । 

    नगर क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीलाई सहज बनाउने उद्देश्यले समर्थन मूल्य कायम गरिएको उहाँले बताउनुभयो । पालिकाले काउलीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो २६ रुपैयाँ, बन्दागोवी २४ रुपैयाँ, ब्रोकाउली ३५ रुपैयाँ, खुर्सानी ५४ रुपैयाँ, घिरौँला २६ रुपैयाँ, करेला ३२ रुपैयाँ, भन्टा २६ रुपैयाँ, सिमी ४६ रुपैयाँ, काँक्रा २५ रुपैयाँ, भिन्डी ३६ रुपैयाँ, फर्सी ३१ रुपैयाँ, स्क्वास फर्सी २५ रुपैयाँ, भेँडे खुर्सानी ५१ रुपैयाँ, बोडी ३० रुपैयाँ, लौका २७ रुपैयाँ र टमाटरको ३० रुपैयाँ कामय गरेको उहाँले जानकारी दिनुभयो ।  

    उहाँले बजारमूल्य भन्दा थोरै सस्तो मूल्यमा यहाँ उत्पादित तरकारी बिक्री गरिने बताउनुभयो । कहिलेकाहीँ बजारमा तरकारीको मूल्यमा उतारचढाव हुँदा किसानलाई मर्का नपरोस् भन्ने उद्देश्यले अनुदान भुक्तानी कार्यविधि नै पारित गरेको उहाँले बताउनुभयो । 

    ‘किसानलाई मर्का नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, उहाँले भन्नुभयो, ‘तोकिएको मूल्यभन्दा कम मूल्यमा यी तरकारी बिक्री भएमा उक्त मूल्य बराबर किसानले पाउनेगरी अनुदानबाट उपलब्ध गराउँछौँ । यसो हुँदा किसानलाई घाटा हुँदैन ।’ यसै वर्षबाट तरकारी बिक्रीमा अनुदान दिनका लागि पालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको छ । 

    नगरपालिकाले किसानलाई तरकारीखेतीमा प्रोत्साहन गर्नका लागि एक सय १७ किसान समूह नै बनाएको छ । त्यसमध्ये एउटा मूल कृषक समूह छ । समूहमा उत्पादन गरेको तरकारीलाई बिक्री केन्द्रमार्फत बिक्री गरिँदै आएको उपप्रमुख सङ्ग्रौलाले बताउनुभयो । हाल विर्तामोडका ६ वटा वडामा तरकारी बिक्री केन्द्र राखिएको छ ।

    उहाँले विर्तामोडमा उत्पादित तरकारीलगायत भण्डार गर्नका लागि विर्तामोड–७ को वडा कार्यालय नजिकै ९० लाख रुपैयाँभन्दा बढीको लागतमा ७० टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको बताउनुभयो । चिस्यान केन्द्र सञ्चालनमा आएपछि यहाँका किसानलाई ठूलो राहत पुग्ने उहाँको भनाइ छ ।

    –रासस