२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

सामूहिक खेतीमा बढ्दो आकर्षण



  • आफ्नै खबर
  • १७ माघ २०८१ बिहिबार (३ महिना अघि)
  • पाठक संख्या ७३
  • मनाङ/  जिल्लाका किसानहरु सामूहिक खेतीतर्फ आकर्षित भएका छन् । खेतीयोग्य भूमि कम रहेको यहाँका स्थानीयवासी सामूहिक खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।यहाँ उत्पादित खाद्यवस्तु जिल्लाभित्रै खपत हुने हुँदा सामूहिक खेतीतर्फ किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र प्रमुख मदन रेग्मीले बताउनुभयो । 

    ‘मनाङ आउने पर्यटकलाई यहीँ उत्पादित खाद्यवस्तु उपयोग गरिने भएकाले किसानलाई प्रोत्साहन मिलेको छ’, उहाँले भन्नुभयो, ‘यसले हामीलाई उत्साहित बनाएको छ ।’ 

    उहाँका अनुसार केही कृषक समूहले बाँझो जमिन भाडामा लिएर पनि खेती गरिरहेका छन् । यसले खेतीयोग्य भूमिको उपयोग वृद्धि भएको उहाँ बताउनुहुन्छ ।

    सामूहिक खेती गर्दा बीउ, मल, सिँचाइमा ज्ञान केन्द्रले सहयोग गर्ने भएकाले सहज भएको नासोँ गाउँपालिका–१ तालछहरा कृषि समूहका अध्यक्ष रोशनी घलेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाँझो जग्गा पनि उपयोग हुने र ज्ञान केन्द्रबाट अनुदान पाइने भएकाले सहज भएको छ ।’  सामूहिक खेतीले महिलालाई आर्थिक रुपमा सबल बनाउनसमेत सहयोग पुगेको उहाँको बुझाइ छ । 

    यहाँ हाल दुई वटा मिश्रित समूह छन् भने नौ वटा महिलाका मात्रै कृषक समूह छन् । नासोँ गाउँपालिका–१ तालगाउँ, नासोँ–२ नाचे गाउँ, नासोँ–३ खोत्रोपाखा र निगालाघारी, नासोँ–४ ओडार गाउँ, चामे गाउँपालिका–२ थानचोक, चामे–१ तिमाङ, चामे–५ वडा, मनाङ ङिस्याङमा तीन वटा समूहमार्फत सामूहिक खेती भइरहेको छ ।  

    यहाँ आलु, करु, गहुँ, फापर, उवा, कोलु बोडीलगायतका रैथाने बाली उत्पादन हुने गरेको छ । यहाँका किसानले प्रविधिको प्रयोग गर्दै रैथाने अन्नबाटै पर्यटकका लागि खाना, नास्ताका रुपमा खाद्यान्न उपयोग गर्ने गरेका छन् ।

    –रासस