२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

नन्दन ताल संरक्षण र प्रवर्द्धनमा गाउँपालिका



  • आफ्नै खबर
  •     (३ महिना अघि)
  • पाठक संख्या ९५
  • पश्चिम नवलपरासी/  पाल्हीनन्दन गाउँपालिकाले वडा नं ६ सनईमा अवस्थित नन्दन तालको संरक्षण एवं प्रवर्द्धन सुरु गरेको छ । संरक्षणको अभाव र अतिक्रमणमा परेको ताललाई पुरानै अवस्थामा फर्काउनका लागि पहल सुरु गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘ताललाई पुरानै स्वरूपमा फर्काउनका लागि गाउँपालिकाले पहल सुरू गरेको छ । विभिन्न समयमा तालेको सर्वेक्षण गरी विस्तृत परियोजना प्रतिवेदन समेत तयार गरेर अगाडि बढेका छौँ ।’ 

    नन्दन तालको क्षेत्रफल करिब ८० बिघा भए पनि अहिले अतिक्रमणका कारण साँघुरिँदै गएको छ । ताल क्षेत्रमा स्थानीयले खेतिपाती गरिरहेका छन् । 

    केही वर्षअघिसम्म तालमा माछापालन हुँदै आएको थियो । जसका लागि ठेक्का समेत लाग्ने गरेकोमा पछिल्लो समय ताल अतिक्रमण भएपछि हुन छाडेको वडा नं. ६ का अध्यक्ष किशान यादवको भनाइ छ । 

    ताललाई तालकै अवस्था ल्याउनुपर्छ भनेर विभिन्न समयमा आवाज उठे पनि संरक्षणको ठोस काम हुन नसकेको स्थानीय सन्दीप यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तालको क्षेत्रमा भएको अतिक्रमणलाई खाली गराउनका लागि मालपोत कार्यालय, नापी कार्यालय तथा जिल्ला प्रशासनको पनि पहलकदमी आवश्यक छ ।’

    –रासस