२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

४ सय गुणा बढ्यो वीरगञ्ज नाकाबाट हुने भटमास र सूर्यमुखी तेलको निर्यात



  • आफ्नै खबर
  •     (३ महिना अघि)
  • पाठक संख्या १११
  • पर्सा/  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल निर्यात बढेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ अर्ब रुपैयाँको पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ । 

    गत आवको ६ महिनाको अवधिमा भने तीन करोड ११ लाख रुपैयाँको एक लाख एक हजार लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो । छिमेकी मुलुक भारतमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यात सहज भएकाले निर्यात उत्साहजनक ढङ्गले बढेको उहाँले जानकारी दिनुभयो ।

    सूचना अधिकारी तिवारीले भन्नुभयो, ‘अहिले भारततर्फ प्रशोधित तेलको निर्यातमा क्रमशः सुधार देखिएको छ ।’ 

    चालु आवको ६ महिनाको अवधिमा भटमासको प्रशोधित तेल मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि बढेको छ । चालु आवको ६ महिनाको अवधिमा तीन अर्ब २१ करोड ९१ लाख रुपैयाँको दुई करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । 

    गत आवको सोही अवधिमा भने नौ करोड ९४ लाख १० हजार रुपैयाँ बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ ।

    –रासस