गोरखा/ गोरखा अस्पतालमा सञ्चालित दुई दिने निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिनुभयो ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई नेतृत्वको ३२ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाहरुको मुटु जाँच गरेका थिए । शिविरमा जाँच गराएकामध्ये २८ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको डा. भट्टराईले बताउनुभयो ।
‘मुटु जाँच गराएकामध्ये २८ जनालाई मुटुको थप उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर रिफर गरेका छौँ’, उहाँले भन्नुभयो, ‘जसमा ६ जनाको तत्काल उपचार गर्नुपर्ने अवस्था छ ।’
शिविरमार्फत चार सय १३ जनाले इसिजी जाँच गराए भने चार सय ७९ जनाले इको जाँच गराएको डा. भट्टराईले जानकारी दिनुभयो ।
रोटरी क्लब अफ गोरखा तथा रोट्र्याक क्लब अफ गोरखाको संयुक्त आयोजना एवं सेभ द हर्ट, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र गोरखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा जाँच गराएका बिरामीलाई आवश्यकताका आधारमा निःशुल्क औषधिसमेत उपलब्ध गराइएको छ ।
शिविरमा मुटु जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबै बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको शिविर आयोजक समितिका संयोजक किशोरजङ्ग थापाले बताउनुभयो । शिविरमार्फत बिरामीलाई करिब ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस