कैलाली/ घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् । घोडाघोडीको वडा नं ४ सिम्थरीमा ६ र वडा नं ९ गोदनीमा ६ वटा आवास निर्माण गरिएका हुन् ।
नगरप्रमुख खडकबहादुर रावतले नव निर्मित घर ती समुदायलाई हस्तान्तरण गर्दै पालिकाभित्रका सबै वडामा सीमान्तकृत वर्गलाई सुरक्षित आवास बनाउने योजना रहेको जानकारी दिनुभयो । ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा उक्त घर निर्माण गरिएका हुन् ।
सुरक्षित आवासमा दुईवटा पक्की कोठा र एक शौचालय रहेको छ । घोडाघोडी नगरपालिकाको ४२ लाख रुपैयाँ, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको २४ लाख रुपैयाँ र जनश्रमदान नौ लाख पाँच हजार पाँच सय दुई रुपैयाँ लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको हो ।
वडाहरूको सिफारिसमा आवासविहीन सीमान्तकृत वर्गलाई लागत साझेदारीमा घोडाघोडीले सुरक्षित आवास निर्माण गरिदिएको हो । यसअघि पालिकाले वडा नं ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई १२ सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस