२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

जुम्लाका ३६ गाउँ सडक सञ्जालमा जोडिए



  • आफ्नै खबर
  • ३० माघ २०८१ बुधबार (३ महिना अघि)
  • पाठक संख्या ७०
  • जुम्ला/  तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालबाट जोडिएका छन्  सङ्घ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि मङ्गलबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले त्यसको उद्घाटन गर्नुभएको हो ।

    यहाँका स्थानीयको मागअनुसार तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो । सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन् । सडक निर्माणपछि जीप, ट्रयाक्टर र मोटरसाइकल सञ्चालन भएका छन् । 

    पालिका अध्यक्ष चौलागाईँका अनुसार सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिएको छ । नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नं ७ पातरसाँघुबाट थलालेसम्मको ४.१७ किलोमिटर सडक निर्माणमा एक करोड २० लाख रुपैयाँ बजेट खर्च भएको छ । 

    उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर शाहीले सडक निर्माणपछि दुई घण्टाको यात्रा अब २० मिनेटमा पूरा हुने बताउनुभयो । आफ्नै घरआँगनमा सडक पुगेपछि स्थानीयले मङ्गलबार नाचगान गरेर खुसीयाली मनाएका थिए ।

    –रासस