३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

साधारण किसानको पहुँच पुग्ने ‘उत्पादनअनुसारको अनुदान’



  • आफ्नै खबर
  • १ फागुन २०८१ बिहिबार (५ महिना अघि)
  • पाठक संख्या ११९
  • कैलाली/  जानकी गाउँपालिका–४ का शेरबहादुर थारुले गत वर्ष १० कट्टा जग्गामा २० क्वीन्टल गहुँ उत्पादन गर्नुभयो । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि  खेतीमा निकै मिहिनेत गर्नुभएका उहाँले यसवर्ष त्यही जग्गामा २५ क्वीन्टल उत्पादन गर्ने लक्ष्य लिनुभएको छ । 

    गतवर्ष शेरबहादुरले उत्पादनका आधारमा ६ हजार चार सय रुपैयाँ अनुदान पाउनुभएको थियो । ‘कुनै झन्झट छैन, गाउँपालिकाबाट प्राविधिक खेतमै पुगेर सल्लाह दिनुहुन्छ, खेतमै पुगेर गहुँको तौल गरेर उत्पादनका आधारमा खातामा पैसा आउँछ’, उहाँ भन्नुहुन्छ, ‘यसले किसानलाई मेहनती बनाएको छ, उत्पादनमा पनि प्रतिस्पर्धा बढाएको छ ।’

    सोही वडाका सन्तलाल कठरिया पनि गाउँपालिकाको कृषि अनुदानबाट निकै प्रभावित हुनुभएको छ । गाउँपालिकाले उपलब्ध गराएको अनुदान रकमले खेतीका लागि आवश्यक मलखाद खरिद गर्न पुगेको उहाँ बताउनुहुँन्छ । किसानलाई उत्पादनमा आधारित अनुदानले प्रोत्साहित गरेको उहाँको बुझाइ छ । 

    ‘अनुदान पाउन कति कठिन छ त्यो सबैलाई थाहा भएको कुरा हो, सामान्य व्यक्ति सायद सरकारले वितरण गर्ने अनुदानको पहुँचमा पुग्न सकेको छैन’, उहाँले भन्नुभयो, ‘यहाँ न कसैको शक्ति लाग्छ, न पहुँचमा नै हुनुपर्छ, उत्पादन भयो भने अनुदान रकम खातामा आउँछ ।’

    किसान मोतीलाल चौधरीले गत वर्ष दुई बिघा पाँच कट्टामा गहुँखेती गर्नुभयो । उक्त जग्गामा मोतीलालले ९० क्वीन्टल गहुँ उत्पादन गर्नुभयो । उत्पादनका आधारमा उहाँले गाउँपालिकाबाट ४१ हजार रुपैयाँ अनुदान प्राप्त गरेको बताउनुभयो । 

    ‘गत वर्षभन्दा यस वर्ष बढी मेहनत गरेर तीन बिघामा गहुँखेती गरेको छु, अनुदान पनि बढ्ने छ’, उहाँले भन्नुभयो, ‘पाएको अनुदानले बीउ र मलखादका लागि पुग्छ ।’ 

    यस्तै किसान सविता कठरियाले चार बिघा क्षेत्रफलमा गहुँखेती गर्नुभएको छ । उहाँ उत्पादनका आधारमा अनुदान पाउनेभन्दा पनि गाउँपालिकाबाट प्राविधिक खेतमै पुगेर सल्लाह दिँदा बढी खुसी हुनुहुन्छ । उहाँले अनुदानका साथमा प्राविधिक सहयोग पनि पाइरहनुभएको छ । 

    ‘हामी गाउँपालिकाको कामबाट निकै उत्साहित छौँ, बालीमा रोग लाग्दा समयमा उपचार पाएका छौँ, उत्पादन राम्रो हुँदा नगद अनुदान पाएका छौँ’, उहाँले भन्नुभयो, ‘गहुँ जस्तै अन्य बालीमा पनि अनुदान दिन सक्यो भने कृषि प्रति अझै आकर्षण बढ्दै जाने देखिन्छ ।’

    गत वर्ष गाउँपालिकाले ६५ किसानलाई झण्डै नौ लाख रुपैयाँ अनुदान दिएको थियो । अनुदानका लागि ७२ जनाले आवेदन दिएका थिए । यस वर्ष त्यो सङ्ख्या बढेर दुई सय पाँच पुगेको कृषि शाखा प्रमुख लालविर चौधरी बताउनुहुन्छ । 

    उहाँका अनुसार किसानले खेती गरेको जग्गाको क्षेत्रफल नापजाँच गरेर बाली काटेपछि उत्पादनका आधारमा अनुदान रकम वितरण गर्ने गरिँदै आएको छ । 

    ‘गाउँपालिकाबाट प्राविधिकलाई किसानको खेतमै खटाएर त्यसको लागत ल्याउने काम गर्छौं, त्यसैका आधारमा किसानलाई अनुदान रकम दिने गरेका छौँ’, उहाँ भन्नुहुन्छ, ‘किसान यसबाट उत्साहित भएको हामीले पाएका छौँ, वास्तविक किसानले अनुदान पाएका छन् ।’ यसवर्ष गाउँपालिकाले अनुदानका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    उत्पादनका आधारमा किसानलाई अनुदान वितरण गर्न गाउँपालिकाले कार्यविधि नै ल्याएको छ । कार्यविधिअनुसार अहिले गहुँ बालीमा दिइँदै आएको अनुदान अन्य बालीमा पनि विस्तार गर्दै लैजाने गाउँपालिकाको तयारी छ । 

    ‘बीउ तथा मलखाद वितरण गरेर त्यसबाट कसले कति उत्पादन गर्न सक्यो त्यसको लेखाजोखा नहुने भएपछि नयाँ तरिका अपनाएका हौं’, गाउँपालिका अध्यक्ष गणेश चौधरीले भन्नुभयो, ‘यसले किसानलाई उत्पादनसँग जोडेको छ भने किसान आफै उत्पादनका लागि प्रतिस्पर्धी बन्नुभएको छ ।’  

    गाउँपालिकाले कृषि जस्तै शिक्षामा पनि नतिजाको आधारमा विद्यालयलाई अनुदान दिन थालेको छ । कक्षा ५, ८ र १० का विद्यार्थीको वार्षिक परिक्षाको नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन थालेसँगै विद्यालयबीचमा पनि प्रतिस्पर्धा हुन थालेको छ । यो कार्यक्रमले शैक्षिक गुणस्तरमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।

    –रासस