२९ जेठ २०८२ बिहिबार | 12 Jun 2025 Thu

९२ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा फागुनको तेस्रो साता लगाइने



  • आफ्नै खबर
  • ८ फागुन २०८१ बिहिबार (४ महिना अघि)
  • पाठक संख्या ८२
  • काठमाडौंँ / पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा देशभर करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । खोप अभियान सरकारले देशभर सञ्चालन गरेको थियो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार अभियानका क्रममा लक्षित समूहको ९२ प्रतिशत  किशोरीले खोप लगाइसकेका छन् । गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मङ्गलबार सकिएको छ ।
     
    शाखाका अनुसार १४ लाख २८ हजार आठ सय ८९ किशोरीले अभियानका बेला खोप लगाएका छन् । अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । खोप लगाउन छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइनेसमेत  बताइएको छ । 

    मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएको खोप अभियान सुरू नगरिएको शाखाको भनाइ छ । ती स्थानमा विद्यालय सुरू हुनसाथ फागुनको तेस्रो सातामा  खोप अभियान चल्नेछ । सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो । 

    नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।