२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

चापाकोटको ४ सय रोपनी जमिनमा सामूहिक आलुखेती



  • आफ्नै खबर
  • १० फागुन २०८१ शनिबार (४ महिना अघि)
  • पाठक संख्या ६७
  • स्याङ्जा/ स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलुखेती गरिएको छ । चापाकोट नगरपालिकाको वडा नं ८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकले झण्डै ४ सय रोपनीमा सामूहिक आलुखेती गरेका हुन् ।

    चापाकोटस्थित रत्नपुर साना किसान कृषि सहकारी संस्था, रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था र नवदृष्टि कृषि सहकारी संस्थामा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका रत्नपुर साना किसान कृषि सहकारीका पूर्वअध्यक्ष जीवन डोटेलले बताउनुभयो ।

    रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थामार्फत ३ सय २० रोपनी, रत्नपुर साना किसान सहकारी संस्थामार्फत ५० रोपनी र नवदृष्टि सहकारीमार्फत २० रोपनी गरी कूल ३ सय ९० रोपनी क्षेत्रफलमा आलुखेती गरिएको डोटेलले बताउनु भयो । “तीन सय ९० रोपनी क्षेत्रफलमध्ये २० रोपनीमा बीउका लागि आलु लगाइएको छ”, उहाँले भन्नुभयो, “बाँकी जमिनमा खाने आलु लगाइएको छ ।”

    सामूहिक आलुखेतीमा वडा नं ८ र ९ का झण्डै दुई सय कृषक प्रत्यक्ष सहभागी भएका उहाँले बताउनुभयो । यहाँ उत्पादन हुने आलु खरिदका लागि चिप्स बनाउने कम्पनीसित सम्झौता भएकाले बजारीकरणका लागि कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

    यसवर्ष झण्डै ४ सय टन आलु उत्पादन हुने अनुमान उहाँको छ । आलु कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र स्याङ्जाले आलुको बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो । ज्ञान केन्द्रले बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराउनुका साथै निःशुल्क कीटनाशक विषादी तथा प्राविधिक सहयोग, यन्त्र उपकरण तथा साना सिँचाइका लागि उपकरणमा ५० देखि ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

    यसवर्ष स्याङ्जामा दुई हजार चार सय रोपनी क्षेत्रफलमा आलु खेती गरिएको छ । निर्वाहमुखी रूपमा हुँदै आएको आलु खेतीमा आधुनिकता र व्यावसायिकतामा जोड दिएसँगै कृषक आलु खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।

    गतवर्ष स्याङ्जामा एक हजार आठ सय ५० रोपनी क्षेत्रफलमा आलु खेती गरिएकोमा यसवर्ष पाँच सय ५० रोपनी क्षेत्रफलमा आलु खेती विस्तार गरिएको हो । विगतदेखि नै निर्वाहमुखी र परम्परागत रूपमा आलु खेती गरिदै आए पनि विगत दुई वर्षदेखि आलुमा आधुनिकीकरण र व्यावसायिकतासँगै क्षेत्रफल र उत्पादनमा वृद्धि भएको प्रमुख हमालले बताउनुभयो ।

    स्याङ्जामा कृषक समूह, सहकारी व्यावसायिक फर्ममार्फत व्यक्तिगत र सामूहिक रूपमा आलु खेती गरिएको छ । जिल्लामा जनकदेव, खुमल उज्वल, कार्डिनल, एमएस ४५, रोजिटालगायत उन्नत जातको बीउ आलु लगाउने गरिएको छ ।