३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

घोराही–तुलसीपुर चार लेनको सडक बन्ने



  • आफ्नै खबर
  • १२ फागुन २०८१ सोमबार (५ महिना अघि)
  • पाठक संख्या १०३
  • दाङ/  घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । 

    भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का ६ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन । 

    पछिल्लो पटक २०७८ फागुन २६ गतेदेखि श्रेष्ठ कन्स्ट्रक्सनलाई सडक निर्माणको जम्मेवारी दिइएको थियो । उक्त कम्पनीले पनि सडकका दायाँबायाँ ठुल्ठूला खाल्डा बनाएर काम छाडेको भन्दै चौतर्फी विरोध भएपछि सरकारले उक्त ठेक्का सम्झौता तोडेको थियो । 

    अहिले पुनः नेपाल सरकारकै लागतमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले ठेक्का आह्वान गरेको हो । आयोजनाको लागत तीन अर्ब १९ करोड रुपैयाँ रहेको छ । 

    मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीका अनुसार यही फागुन ३० गतेसम्म आवेदन गर्ने अवधि छ । उहाँका अनुसार विगतजस्तो कतै चार लेन र कतै दुई लेन नभइ सबै खण्डमा चार लेनको सडक हुनेछ । 

    विगतमा बजार क्षेत्रमा दुई लेन मात्रै सडक बनाउने प्रस्ताव थियो । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्मको २१ किलोमिटर सडक खण्ड ३० मिटर चौडाइको हुनेछ । सम्झौता भएको ३६ महिनाभित्र काम सक्ने गरी आयोजनाको काम अघि बढ्नेछ ।

    –रासस