३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

रुद्रतालको संरक्षण गर्दै ढोरपाटन



  • आफ्नै खबर
  • १५ फागुन २०८१ बिहिबार (५ महिना अघि)
  • पाठक संख्या १४३
  • बागलुङ/  ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । धार्मिक महत्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न थालेपछि ढोरपाटन नगरपालिकाले समेत संरक्षण गर्न थालेको छ । 

    चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकाले विजियोजन गरेको २५ लाख रुपैयाँबाट ताल संरक्षणको काम अघि बढाइएको उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो । जङ्गलको बीचमा रहेको रुद्रताल प्राकृतिक रूपमै सुन्दर रहेको र त्यसलाई थप व्यवस्थित गर्न थालिएको उहाँले बताउनुभयो ।  

    उक्त बजेटले यस वर्ष सडकदेखि तालसम्म रेलीङसहितको पदमार्ग, खानेपानी र घेराबार गरिने तयारी भएको उपप्रमुख कायतले बताउनुभयो । यसअघि पनि ताल संरक्षणको काम गरिए पनि अझै व्यवस्थित हुन नसेको भन्दै उहाँले पर्यटकका लागि स्वच्छ खानेपानी र विश्राम स्थल निर्माणका विषयमा पनि कुरा भइरहेको सुनाउनुभयो । 

    उपप्रमुख कायतले भन्नुभयो, ‘यो ताल धार्मिक आस्थासँग पनि जोडिएको छ । पहिले सडकले नजोडिँदा ओझेलमा थियो । अहिले ताल नजिकैबाट ढोरपाटन उपत्यका पुग्ने सडक बनेकाले सिकार आरक्ष क्षेत्रमा पुग्ने हरेक पर्यटकले तालको अवलोकन गरेकै हुन्छन् । यसको संरक्षण गर्नका लागि हामीले प्रयास गरेका छौँ । यस वर्ष केही काम हुन्छ, बाँकी आगामी दिनमा गर्नेछौँ ।’

    तालमा वन्यजन्तुले पानी पिउन आउने हुँदा पर्यटकले नजिकैबाट अवलोकन गर्न सक्छन् । पछिल्लो समय यहाँ तालसँगै मृग, घोरललगायत वन्यजन्तु नजिकैबाट अवलोकन गरेर पर्यटकले थप आनन्द लिन थालेका छन् । भुजीखोलाको शिरमा पर्ने यो तालबाट बग्ने पानीले स्नान गर्दा छालासम्बन्धी रोग लाग्दैन भन्ने जनविश्वाससमेत रहेकाले पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको छ । 

    नेपालकै एक मात्र ढोरपाटन सिकार आरक्ष जाने सडकसँग जोडिएपछि पछिल्लो समय ताल धेरैको रोजाइमा पर्न थालेको नगरपालिका–९ का वीरबहादुर घर्तिमगरले बताउनुभयो । एक दशक अगाडिसम्म सुनसान रहेको तालमा हाल पर्यटकको निकै चहलपहल बढेको उहाँले जानकारी दिनुभयो । 

    ताल वरपर बगैँचा, प्रतीक्षालय, शौचालय र खानेपानीको व्यवस्थापन गर्न सकेमा धेरै सहज हुने र आकर्षण थप बढ्ने घर्तिमगरको भनाइ छ । 

    ‘रुद्रताल यस क्षेत्रकै चर्चित ताल हो । जङ्गलको बीचमा यति सुन्दर ताल छ । यसको अझै प्रचारप्रसार र प्रवद्र्धन आवश्यक छ’, उहाँले भन्नुभयो, ‘तालमा पानी सुक्न थालेको छ । के कारणले यस्तो भएको हो बुझ्न सकिएको छैन । ताल सुक्यो भने त अस्तित्व नै समाप्त हुन्छ । सरोकार भएका निकायले यसतर्फ ध्यान दिनुपर्छ ।’

    –रासस