खोटाङ दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ ।
सम्मेलनमा बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्री प्रदर्शनीमा राखिएका छन् । सम्मेलनमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवसाय गरिरहेका बाँस व्यवसायी, स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्नका विभिन्न परिकार लगायत ५१ वटा स्टल राखिएको आयोजकले गरेको छ ।
यस्तै, मनोरञ्जनका लागि लिङ्गेपिङ तथा रोटेपिङलगायतको पनि व्यवस्था गरिएको सम्मेलनका मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा भएको बाँस सम्मेलनको उद्घाटन कार्यक्रममा सङ्घीय सांसदहरु, प्रदेशका मन्त्री र सांसदहरु, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थाका प्रमुख, जिल्लाका दशवटै स्थानीय तह तथा जिल्ला बाहिरका स्थानीय तहका प्रमुखहरुको उपस्थिति थियो ।
जिल्ला बाहिरबाट मात्र ३०० भन्दा बढी अतिथिको बाँस सम्मेलनमा उपस्थिति छ । त्यसअवसरमा विज्ञहरुबाट २३ वटा कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराका साथ सञ्चालन गरिएको सम्मेलनको आयोजकहरुमा वन तथा प्रशिक्षण केन्द्र बबरमहल, वन तथा वातवरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रिएशन ललितपुर रहेका छन् । बाँसको प्रवद्र्धन गर्दै यसबाट आयआर्जन गर्ने यस सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
मेलका अवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न-गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको गरिएको छ ।
प्रतिक्रिया दिनुहोस