२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

स्ट्रबेरीखेतीबाटै वार्षिक ३० लाख आम्दानी



  • आफ्नै खबर
  •     (२ महिना अघि)
  • पाठक संख्या १२१
  • काभ्रेपलाञ्चोक/  बनेपा नगरपालिका–१० जनगालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि ३० लाखको हाराहारीमा आम्दानी गरिरहनुभएको विष्ट हाल जनगाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त हुनुहुन्छ । 

    करिब चार वर्षअघि ‘कोरोना महामारीकाल’मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवयासायी बन्नुभएको हो । विष्ट त्यसबेलाको जुक्तिबाट व्यावयायिक स्ट्रबेरीखेतीमा रत्तिभर विचलित नभई व्यवसायको दायरा बढाउँदै रमाइरहनुभएको छ । 

    विष्टले भन्नुभयो, ‘अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा तीन सयदेखि सात सय रुपैयाँसम्ममा स्ट्रबेरी बिक्री भइरहेको छ ।’ 

    जसले आफ्नै देशमा पसिना बगाइरहेका छन्, धेरैजसोले कृषि व्यवसाय रोजेको पाइन्छ । यस्तैमध्येका एक हुनुहुन्छ विष्ट । उहाँ आफ्नै दश रोपनी जग्गामा स्ट्रबेरी रोपेर जिल्लामा मात्र नभएर देशकै नमुना कृषकको पहिचान बनाउने अभियानमा हुनुहुन्छ । 

    तर, ४५ वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थाल्नुभएको भने होइन, अरूले रोपेको देखेर र भनेको सुनेकै भरमा थल्नुभएको हो । दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै पनि केही गरौँ भन्ने लाग्नेहरूलाई विष्टको स्ट्रबरीखेती उदाहरणीय बन्नसक्ने देखिएको छ । 

    अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै हुनुहुन्छ । उहाँले आफ्नै माटोमा बगाउनुभएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको छ । त्यस्तै व्यवसायको दायरा पनि फराकिलो भइरहेको छ । यस वर्ष पनि विष्टले लगाएको खेतीबाट उत्पादन सुरू भइसकेको छ । उहाँले स्ट्रेबरीखेतीका लागि करिब ३० लाख रुपैयाँ लगानी गर्नुभएको छ । 

    गत वर्ष सबै खर्च कटाएर ३० लाख रुपैयाँ बचत गर्नुभएको थियो । उहाँ यसवर्ष यतिकै हाराहारीमा आम्दानी लिने अपेक्षामा हुनुहुन्छ । विष्टले हाल स्ट्रेबरी मात्र लगाउनुभएको छैन, मौसमअनुसारका अन्य तरकारी तथा कुखुरापालनसमेत पनि गरिरहनुभएको छ । 

    हाल उहाँको व्यवसायमा दैनिक पाँच जनाले रोजगारी पनि पाएका छन् । व्यवसायका लागि उहाँले विभिन्न सहकारी र बैंकबाट केही ऋण लिनुभएको बताउनुभयो । उहाँले गुनासो गर्नुभयो, ‘व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरिरहेको छु, तर पाएको छैन ।’ 

    विष्ट आफ्नो व्यवसायलाई अब कसरी नयाँ रूप दिने भन्नेबारे सोच्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अब केही समयमै स्ट्रेबरीखेतीबाट वाइन र जुस कम्पनी खोलेर यसलाई उद्योगका रूपमा विकसित गर्ने लक्ष्य छ, यसका लागि विज्ञहरूसँग सल्लाह गरिरहेकोछु ।’

    साथै, विष्टले गत वर्षदेखि नै स्ट्रबेरीका अतिरिक्त बिरूवासमेत उत्पादन गरेर बेच्ने गरिरहनुभएको सुनाउनुभयो । उहाँको अनुभवमा स्ट्रेबरी आफैँमा एक स्वादिलो र पोषिलो फल भएको र यसले मानव स्वास्थ्यमा धेरै नै फाइदा दिने भएकाले बजारमा माग र मूल्य उच्च भएको हो ।

    विष्टले यस वर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिनुभएको छ, जसबाट गत वर्षभन्दा बढी आम्दानी हुनेछ । उहाँले स्ट्रबेरीखेतीका लागि बनेपामा र ककनीमा गरी एक लाख बिरूवा रोप्नुभएको हो । 

    उहाँ भन्नुहुन्छ, ‘स्ट्रबेरीको बिरूवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरूवा उत्पादन थालेको छु ।’ उहाँले चितवन, नवलपरासी र बारामा स्ट्रबेरीखेतीका लागि अध्ययन भइरहेको बताउनुभयो । उहाँले गत वर्ष ४० हजार बिरूवा उत्पादन गरी केही बिक्री गर्नुभएको थियो । 

    दुई महिनामा हुर्केको स्ट्रबरीले उत्पादन दिन थाल्छ । उहाँले स्ट्रबेरीखेती थालेको थाहा पाउने बनेपा तथा आसपासका उहाँको खेतमै गएर खेती हेर्ने र किनेर लैजाने गर्छन् । 

    विष्ट भन्नुहुन्छ, ‘आजकाल दैनिक मेरो स्ट्रबेरी खेती हेर्न आउनेक्रम बढ्दैछ, उहाँहरू यहीबाटै किनेर पनि लैजानुहुन्छ, उहाँहरूलाई म बजारको भन्दा सस्तोगरी दिने गर्छु ।’ 

    विष्टले उत्पादन गरेको स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौँ, पोखरा तथा चितवनसम्म जाने गरेको छ । 

    विष्ट भन्नुहुन्छ, ‘देशका प्रमुख सहरमा मेरा उत्पादन पुर्याउने लक्ष्य लिएको छु । स्ट्रबेरी बिरूवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ । त्यसमा पनि विशेष ध्यान दिइरहेको छु ।’ प्रतिबिरूवा २५ देखि ३० रुपैयाँसम्ममा बिक्री हुने गरेको विष्ट बताउहुन्छ ।

    विष्टले अमर भू–मण्डलीय बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी नयाँ नयाँ काम सुरू गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको बताउनुहुन्छ । 

    विष्टले भन्नुभयो, ‘सुरूआतका बेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नुप¥यो, अहिले त्यस्तो छैन ।’ उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ व्यहोर्नुपरेको विष्टले सुनाउनुभयो ।

    –रासस