२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

पर्यटकिय गन्तव्यको सम्भावना बोकेको घाङ्चो छहरा



  • आफ्नै खबर
  •     (२ महिना अघि)
  • पाठक संख्या ९०
  • पाल्पा/  बाह्रै महिना पानी झरिरहने पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजीको गाउँको बीच भागमा अवस्थित घाङ्चो छहरा हेर्दै मनमोहक छ । यसलाई मगर भाषामा घाङ्चो छहरा भनिन्छ । तर जनजिब्रोमा भने मगर भाषामै घाङ छहर अर्थात् नेपालीमा अग्लो झरनाका नामले चिनिन्छ ।

    यहाँ पुग्ने जोकोही पनि झरनाको पानीमा नुहाउने र मज्जा लिने गर्छन् । सडक यातायात पूर्वाधार तथा प्रचारप्रसारलगायतको अभावमा भने यो ओझेलमा परेको छ । बहपुरका तेजन सुनारी पाखापखेरामा घाँसदाउरा होस् या गोठालो जाँदा झरनाको आवाजले मन नै फुरुङ्ग बनाउने गरेको बताउनुहुन्छ । हिउँदयाममा पनि पानी कहिल्यै नसुक्ने उक्त झरना मनमोहक रहेको उहाँले बताउनुभयो ।

    ‘गर्मीयाममा अग्लो छाँगोबाट झरिरहेको झरनाको पानीमा नुहाउन र मज्जा लिने गरिन्छ, यहाँ गर्मीयाममा पनि पानी सुक्दैन’, सुनारीले भन्नुभयो, ‘यसको  प्रचारप्रसारको आवश्यकता छ । यहाँसम्म आवतजावत गर्न पूर्वाधार विकास नहुँदा झरना गुमनाम बनेको छ । यो पर्यटक भित्र्याउने माध्यम बन्नुपर्छ ।’

    पर्यटनको सम्भावना बोकेको सो झरनालाई पर्यटकीय पूर्वाधार विकाससँग जोडे यो पर्यटकीय गन्तव्यस्थल बन्छ । करिब ३० मिटरभन्दा बढी उचाइ रहेको सो झरना २० मिटरसम्म फैलिएको छ । झरनासम्म पुग्ने बाटो सहज नहुँदा पर्यटकको चहलपहल न्यून छ ।

    बहपुर र बेलौजी गाउँसम्म सडक सुविधा पुगेको छ । बहपुर गाउँबाट करिब १० मिनेट र बेलौजी गाउँबाट १५ मिनेटको पैदलयात्रा गरेपछि उक्त झरनामा पुगिन्छ । झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न निस्दी गाउँपालिकाले पहलकदमी थालेको छ । 

    प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बहपुरगाउँबाट झरनासम्म पैदलमार्ग बनाउन थालिएको छ । अब त्यहाँसम्म पुग्न पैदलमार्ग (सिँढी) निर्माण गरिँदै छ । झरनासम्म सडक विस्तार गर्न पैदलमार्ग तयार गरिएको निस्दी–५ का वडाध्यक्ष दुर्गाबहादुर सोमैले बताउनुभयो । 

    चालु आर्थिक वर्षमा झरनाको प्रवर्द्धन र पर्यटन विकास गर्न रु एक लाख बजेटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । अग्लो स्थानबाट बेगले झरेको झरनाबाट मनलाई आनन्दित बनाउँछ ।

    –रासस