तनहुँ/ बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले २०६४ सालदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । हाल ५० रोपनी जमिनमा खेती गरिरहनुभएको उहाँले वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको सुनाउनुभयो ।
बाइस वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उहाँ कामका लागि भारत जानुभयो । त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किनुभयो । त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन ।
अनि सुरु भयो, गाउँमै तरकारीखेती । निरन्तर प्रयास गरे के हुँदैन ! त्यसैको उदाहरण बन्नुभएको छ ढकाल । सुरुमा दुई–तीन रोपनीमा खेती गरेका उहाँले हाल ५० रोपनीमा विस्तार गर्नुभएको छ ।
‘पहिले पहिले अरूको मेलापर्म गरेर जीविकोपार्जन गरिन्थ्यो । कामका लागि भारत पनि गइयो तर त्यहाँबाट फर्केपछि भने आफ्नै देशमा केही गर्नुपर्छ भनेर खेती सुरु गरेँ,’ ढकालले भन्नुभयो, ‘राम्रै भयो । यदि काम गर्ने इच्छा शक्ति छभने देशमै धेरै अवसर रहेछन् भन्ने कुरा धेरैपछि थाहा पाए तर त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । मेहनत गरेर विगतमा बाँझो रहेको जग्गाबाटै हाल लाखौँ कमाई गरिरहेको छु ।’
उहाँले बाह्रैमास तरकारीखेती गर्नुहुन्छ । टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी । केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उहाँको बारीमा ।
पछिल्लो समय तरकारीका साथै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले जानकारी दिनुभयो । करिब चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो ।
तरकारीखेती गरिरहेको सबै जग्गा उहाँको आफ्नै भने होइन । वार्षिक दुई लाख रुपैयाँ तिर्ने गरी ५० रोपनी जग्गा भाडामा लिनुभएको छ । ढकालले उत्पादनको राम्रो खपत हुन थालेपछि थप १० रोपनी जग्गामा व्यवसाय विस्तारको योजना बनाउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘उत्पादन गरेका तरकारी बन्दीपुर, डुम्रे, दमौलीलगायत बजारमा बिक्री गर्दै आएको छु । पोखराबाट समेत व्यापारीहरू तरकारी लिन आउने गरेका छन् । यो सबै गरी वार्षिक ८० लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ । त्यसमा सबै खर्च कटाएर १५ लाख रुपैइाँ बचत हुने गरेको छ । अब थप व्यवसाय विस्तारको योजना बनाइरहेको छु ।’
विगतमा अर्कोको बनिबुतो गरेर खाने ढकालले यसै व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुभएको छ ।
ढकालको भनाइ छ, ‘तरकारीखेतीबाट राम्रो आम्दानी भएकाले छोराछोरीलाई स्नातक तहसम्म पढाउन सफल भएँ । अर्काको देशमा नोकरी गरेर बसेको भए खै ! यो सम्भव हुन्थ्यो या हुन्थेन । समयमै आफ्नै स्वदेशमा कृषि पेसा गरेकाले अहिले आम्दानी र सन्तुष्टि दुवै राम्रो भइरहेको छ ।’
हाल उहाँकी एक छोरी विदेशमा र छोरा शिक्षक हुनुहुन्छ । ३० लाख रुपैयाँ खर्चेर बस्न लायक घर बनाउनुभएको छ । आफ्नै नाममा दुई रोपनी जग्गा जोड्नुभएको छ । तरकारीको बजारीकरणका लागि बोलेरो जिप, मोटरसाइकल र स्कुटर किन्नुभएको छ ।
आफ्नो व्यवसाय विकासका लागि बन्दीपुर गाउँपालिका र कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको ढकालले जानकारी दिनुभयो । तीन वर्षसम्म टनेल प्रविधिमा सहयोग पाएको उहाँले बताउनुभयो ।
उहाँले खुसी साट्नुभयो, ‘कृषि व्यवसाय विस्तारका लागि हालसम्म १० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेँ । कृषि विषयमा अध्ययन अनुसन्धान गर्न कृषि ज्ञान केन्द्रले भारत भ्रमणमा समेत पठाएको छ । कामको खोजीमा जानुभन्दा र व्यवसायीका रूपमा भारत भ्रमणमा जानुको आनन्द नै बेग्लै हुँदो रहेछ ।’
व्यवसायी ढकालले बजारको मागअनुसार उत्पादन र त्यसअनुसार व्यवस्थापनको काममा निरन्तर लागिरहेको बताउनुभयो ।
‘कृषिकर्म नै हो नेपालको समृद्धिको आधार । हामीसँग भएको यो उर्वरभूमिमा लगनका साथ पसिना चुहाउने हो भने रोजगारीका लागि विदेश नै जानुपर्दैन । त्यसको उदाहरण म आफैँ हो’, उहाँको कथन छ, ‘यदि म निराश भएको भए आजको यो अवस्था हुन्थे । विदेशै भए पनि आफ्नै देशमा घर, परिवार, समाज र आफन्त, साथीभाइसँग बसेजस्तो आनन्द र सन्तुष्टि हुन्थेन । यो सबैले बुझ्न जुरुरी छ ।’
–रासस
प्रतिक्रिया दिनुहोस