सुनसरी/ देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा ६ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ ।
वडा नं ९ स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन तीन तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले जानकारी दिनुभयो । वडा नं ६ का अध्यक्षसमेत रहनुभएका प्रवक्ता पोख्रेलका अनुसार २०८० पुस १७ गते निर्माण सुरु गरी २०८२ असार १७ मा सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
निर्माणको जिम्मा पाएको श्री अर्थ–हाम्रो–श्रीमान् कम्पनीले तोकिएको समयभन्दाअघि नै निर्माण सम्पन्न गरी भवनसहितका संरचना हस्तान्तरणका लागि समय माग गरेको छ ।
सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उपमहानगरलाई पत्राचार गरिसकेको निर्माण कम्पनीका ठेकेदार अङ्कुर गौतमले बताउनुभयो । केही दिनमै उपमहानगरलाई भवन हस्तान्तरण गर्ने योजना रहेको गौतमले जानकारी दिनुभयो ।
एक बिघा क्षेत्रफलमा फैलिएको बसपार्कमा सुविधा सम्पन्न तीनतले टर्मिनल भवन बनेको छ । भवनको भुइँ तलामा एक सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, मिनीमार्ट, सार्वजनिक शौचालय र कन्ट्रोल रुम निर्माण गरिएको उपमहानगरका इञ्जिनियर भविन्द्र चौधरीले जानकारी दिनुभयो ।
भवनको पहिलो तलामा व्यावसायिक प्रयोजन गर्न सकिने सात कोठा छन् भने दोस्रो तलामा क्याफेसहितको रेस्टुरेन्ट रहेको इञ्जिनियर चौधरीले जानकारी दिनुभयो । बसपार्क नौ करोड ४९ लाख रुपैयाँमा निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
उक्त योजना नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो । दुई दशकअघि निर्माण भएको बसपार्क बढ्दो सवारीसाधनको चापसँगै अव्यवस्थित बनको थियो । बसपार्कलाई व्यवस्थित र व्यावसायिक रूपमा प्रयोग गर्ने उपमहानगरको योजना रहेको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस