२० जेठ २०८२ मंगलबार | 03 Jun 2025 Tue

कृषकलाई प्रोत्साहित गर्न वडा कार्यालयमै पालियो मौरी



  • सुशीला रेग्मी
  •     (३ महिना अघि)
  • पाठक संख्या १२५
  • पाल्पा/  घरका भित्ता, बार्दली, आँगनका डिल वा बारीका छेउछाउ, बगैँचा वरपर मौरीका घार हुन्छन् । यसरी नै गाउँघरमा मौरीपालन गरिन्छ । घरका आँगन वरपर, बार्दली, पिँढी तथा भित्तामा पनि मौरीपालन गरेर किसानले राम्रै लाभ लिएका छन् । यी त आमनागरिकलाई देखेका, भोगेका र जानेका कुरा हुन् । 

    कार्यालयमा मौरीपालन व्यवसाय थालनी भने कतै भएको सुनिँदैन । पाल्पाको एक सरकारी कार्यालयले मौरीपालन अभ्यास सुरू गरेको छ । यहाँको बगनासकाली गाउँपालिकाको वडा नं १ को कार्यालय चिर्तुङ्धारामा व्यावसायिक तवरबाट मौरीपालन थालनी भएको छ ।

    वडा कार्यालय परिसरमा लहरै मौरीका घार राखिएका छन् । कार्यालयमा पुग्ने सेवाग्राही तथा सर्वसाधारण एवं जोकोहीलाई पनि मौरीफार्ममा पुगेको अनुभुती हुन्छ । कार्यालय परिसरमा लहरै राखिएका मौरीका घारले सेवाग्राही तथा यहाँ पुग्ने जोसुकैले मौरीपालनसम्बन्धी केही न केही नयाँ ज्ञानार्जन गर्ने गरेका छन् ।

    कार्यालयमा मौरीपालन देखेपछि नागरिकले मौरीपालनसम्बन्धी चासो दिएर जानकारी लिने गरेको कृषि प्राविधिक खिमराज कोइराला बताउनुहुन्छ । सानो लगानीमा घरमा दुई चार घार राखेर व्यवसाय अगाडि बढाउन सकिने, धेरै मेहनत गर्न नपर्ने हुँदा किसानलाई व्यवसायउन्मुख बनाउनका लागि वडा कार्यालयबाटै मौरीपालन व्यवसाय सञ्चालन गरिएको प्राविधिक कोइरालाले जानकारी दिनुभयो । 

    ‘किसानमात्र नभएर आमगरिकमा एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ । वडा कार्यालयमा आउने सेवाग्राहीले मौरीपालन गर्ने तरिका, लागत, उत्पादन, बजारीकरणसम्बन्धी जानकारी लिने गर्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘हामीले पनि यहाँ आउनेलाई मौरीपालनसम्बन्धी जानकारी दिइरहेका छौँ । कार्यालयमा काम सम्पन्न नहुँदासम्म मौरीपालनको तरिका सिक्न सेवाग्राही इच्छुक हुने गर्नुभएको छ ।’ 

    वडा कार्यालयको काममा पालो पर्खेर बस्ने समय अहिले मौरीपालनबारे जानकारी लिन सेवाग्राही सक्रिय भएका छन् । कार्यालयमा नयाँ कुराको थालनी भएकाले पनि यस बारेमा धेरैको चासो बढेको छ । 

    वडा कार्यालयको लगानीमा दशवटा आधुनिक घारमा मौरीपालन सुरू गरिएको वडाध्यक्ष शेरबहादुर चिदी बताउनुहुन्छ । नयाँ अभ्यास भएकाले यसबाट किसानले केही सिकेर घरमा व्यवसाय गर्न उर्जा मिलोस् भनेर सुरू गरेको वडाध्यक्ष चिदीले बताउनुभयो ।

    ‘कार्यालयमा सेवा लिन आउने किसान तथा सेवाग्राहीलाई मध्यनजर गर्दै मौरीपालन सम्बन्धमा जनचेतना जगाउन यो नयाँ अभ्यासको थालनी गरेका छौँ’, वडाध्यक्ष चिदीले भन्नुभयो, ‘कृषिमा नागरिकको आकर्षण बढाउन र व्यावसायिक ढङ्गबाट व्यवसाय गर्न उत्प्रेरणा जगाउन कार्यालयले मौरीपालन सुरू गरेको हो । यसको वारेमा सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।’

    सेवाग्राहीलाई वडा कार्यालयमा पनि मौरीपालन छ भन्ने अनुभूति गराउँदै घरघरमा मौरीपालनमा लाग्न प्रेरणा प्रदान गर्नका लागि कार्यालयमा व्यावसायिक ढङ्गबाट मौरीपालन गरिएको छ । कार्यालय क्षेत्रमा सेरेना मौरीपालन कार्यक्रमअन्तर्गत मौरीपालनलाई जोड दिदै नयाँ कार्यको अभ्यास भएको छ । 

    उत्कृष्ट किसानलाई मौरीपालनका लागि वडा कार्यालयबाट गोलासहितको घार वितरण गर्ने वडाको योजना छ । 

    अहिले कार्यालयमा मौरीपालनको परीक्षणकाल भएकाले व्यवसाय राम्रो हुँदै गएमा थप गर्दै जाने वडाले जनाएको छ । यो कार्य सम्भवतः नेपालमै नयाँ कार्यको सुरूवात हो । 

    वडा कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को ९० हजार रुपैयाँ बजेटबाट काम सुरू गरेको छ । व्यवसाय गर्न चाहने हो भने सानो रकमले पनि सञ्चालन गर्न सकिन्छ भन्ने यस वडाले उदाहरण प्रस्तुत गरेको छ ।

    सिद्धार्थ राजमार्गसँग जोडिएकाले पनि मौरीको अध्ययन अवलोकन भ्रमणका लागि देशका पूर्वदेखि पश्चिमसम्मका किसान बगनासकाली आउने गरेको कृषि शाखा प्रमुख किशोरकुमार खत्रीले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘मौरीपालनबाट यहाँका किसान राम्रो आयआर्जन गर्न सफल बनेका छन् । हामीले मौरीपालनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ । सडकमार्ग जोडिएकाले पनि यो क्षेत्र बजारीकरणका लागि सहज छ ।’

    पाल्पा जिल्लामै बगनासकाली गाउँपालिका मौरीपालनको सम्भावना बोकेको क्षेत्र हो । यहाँबाट अन्य जिल्लामा गोलासहितको मौरीघार पठाइन्छ । गाउँपालिकामा एक दर्जनभन्दा बढी किसान व्यावसायिक मौरीपालनमा आबद्ध छन् । 

    यहाँका किसानले मह उत्पादनभन्दा गोला बिक्रीमा जोड दिएका छन् । गोलासहित आठ हजार पाँच सय रुपैयाँमा मौरीघार बिक्री भइरहेको छ । एक दुई घारदेखि धेरैमा एक हजार तीन सय घारसम्म मौरीपालन गर्ने गरेको पाइन्छ । 

    किसानले स–सानो लगानीमा थोरै–थोरै मौरीपालन गरेर मह उत्पादन तथा गोलासहित घार बिक्रीबाट आम्दानी गर्ने गरेका छन् । मध्यपहाडी क्षेत्रमा सेरेना जातको मौरीपालनको सम्भाव्यता भएको हुँदा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाभित्र व्यावसायिक रूपमा मौरीपालन भइरहेको छ । 

    व्यावसायिक किसानले महमा भन्दा पनि गोला बिक्रीमा जोड दिएका छन् । तोरी, तोरीका फूल, जङ्गली बोट बिरूवाबाट रस सङ्कलन गरेर मौरीले आहार व्यवस्थापन गरिरहेको छ ।

    –रासस