२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

केराखेतीबाटै महिनाको लाख कमाइ



  • आफ्नै खबर
  •     (२ महिना अघि)
  • पाठक संख्या ७०

  • सर्लाही/  बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न हुनुहुन्छ । उहाँले साढे सात बिघा खेतमा केराखेती गर्नुभएको छ । 

    उहाँले भन्नुभयो, ‘मेहनतअनुसारको उत्पादन र उत्पादनअनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको छ ।’

    कृषि उत्पादनमा व्यावसायिक रूपले जोडिनुपर्ने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘हामी आफ्नो माटोमा सुन फलाउन छाडेर विदेशमा पित्तल कमाउन पुग्ने गर्छौँ ।’ झण्डै पाँच वर्ष मलेसियामा श्रम गर्नुभएका उहाँ युवाहरूलाई देशमै केही गर्न आग्रह गर्नुहुन्छ । 

    बिहान सबेरैदेखि साँझ अबेरसम्म उहाँ केराबारीमा भेटिनुहुन्छ । खेतीबारी राम्रो हुन त्यसलाई पर्याप्त स्याहारसम्भार गर्नुपर्ने उहाँको अनुभव छ । 

    ‘हाम्रो बानी कस्तो छभने, खेतमा बाली लगाउने अनि फर्केर नजाने’, उहाँले भन्नुभयो, ‘यसरी खेती हुँदैन, हाम्रा पितापुर्खाले भन्ने गर्नुभएको उखानै छ । घोकन्ते विद्या, ध्याउन्ते खेती ।’

    बुबाबाजेले खेतीपाती गरेको देखेर हुर्कनुभएका उहाँले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । तत्कालीन राज्यसत्ताविरुद्ध माओवादीले गरेको सङ्घर्षमा होमिनुभएका उहाँ २०६५ सालमा वैदेशिक रोजगारीमा जानुभयो । 

    शान्ति वार्तापछि माओवादी सरकारमा गयो । हामी परिवार पाल्नै नसक्ने भएपछि भारतको बाटो हुँदै मलेसिया पुग्यौँ । माओवादी द्वन्द्वबाट आएका ४२ जना एकैपटक मलेसिया अवतरण भएका थियौँ । 

    विदेशको भूमि, हावापानी, रहनसहन, भाषा, वेशभूषा सबै नयाँ । हामीलाई त्यहाँ महिनौँसम्म मार्बल र ढुङ्गा बोकाइयो । निकै कष्ट भयो । सीपबिनाको वैदेशिक रोजगारी पशुले गर्ने सङ्घर्ष हुने उहाँको भनाइ थियो ।

    उहाँ थप्नुहुन्छ, ‘पाँच वर्ष काम गरेपछि २०७१ सालमा स्वदेश फर्किएँ । विदेशबाट ल्याएको पैसा एउटा घर बनाउनेबित्तिकै सकियो । फेरि दैनिक छाक टार्नै धौधौको अवस्थामा पुगियो ।

    परिवार बिरामी पर्दा छिमेकमा सापटीसमेत पत्याउन छाडे । काम र दुःख सम्झेर विदेश जाने आँट पनि आएन । त्यसपछि छिमेकीको खेत भाडामा लिएर केराखेती सुरु गरेँ । त्यसयता दुःखलाई फर्किएर हेर्नुपरेको छैन ।’ 

    पुर्ख्यौली सम्पत्तिका नाममा तीन कठ्ठा जग्गा पाउनुभएका उहाँले १० वर्षमा १५ कठ्ठा खेत, दुई ठाउँमा घडेरी जोडेको बताउनुभयो । तीन सन्तानलाई उनीहरूले चाहेअनुसार शिक्षादीक्षा यसै खेतीको आम्दानीबाट पूरा गरिरहेको उहाँको भनाइ छ । 

    उहाँले एक छोरालाई फार्मेसी पढाउनुभएको छ । दुई सन्तान उच्च शिक्षा अध्ययनरत छन् । छोराछोरीलाई आजको समाजमा बाँच्न सक्ने वातावरण तयार गर्न सक्नु नै ठूलो सम्पत्ति आर्जन भएको उहाँको बुझाई छ । 

    उहाँको केराखेती अहिले साढे आठ बिघा पुगिसकेको छ । उहाँले वर्षको प्रतिकठ्ठा चार हजार आठ सयदेखि ६ हजार पाँच सय रुपैयाँसम्म भाडा तिर्नुहुन्छ । केरा रोपेको १२ देखि १४ महिनाबाट उत्पादन दिन सुरु हुन्छ । 

    नौ हजार दुई सय बोट केरा रहेकामा प्राकृतिक प्रकोपमा परेर वर्षमा सय बोटसम्म केरा क्षति हुने गरेको उहाँको भनाइ छ । सुरुमा खनजोत, मलखाद, मजदुर गरी २२ लाख रुपैयाँ लगानी गरेको खेतीबाट १४ महिनामा ३१ लाख रुपैयाँ भन्दा बढीको केरा बिक्री गर्ने उहाँको भनाइ छ । 

    ‘प्रतिघरीमा ९० देखि एक सय कोसा केरा फल्छ’, उहाँले भन्नुभयो, ‘मैले मालभोग र नाइन ग्रेड (घ्यू) केराको बोट लगाएको छु । नाइन ग्रेडको घरीमा दुई सय कोसासम्म फल्छ ।’ प्रतिकोसा ३ रुपैयाँ ५० पैसाका दरले कम्तीमा तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म प्रतिघरी केरा बिक्री हुन्छ । 

    छठ तथा चाडपर्वमा अझै महँगोमा बिक्री हुने उहाँले जानकारी दिनुभयो । यहाँ उत्पादन भएका केरा स्थानीय हरिवन, बरहथवा, नयाँरोड, सोल्टीलगायत बजारसम्म लैजाने गरिएको छ ।बजारको मागअनुसार केरा दिन नसकेको उहाँले सुनाउनुभयो । 

    ‘हप्तामा दुई सय ५० घरीभन्दा धेरै केरा पसलेले माग्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘छ–सात बिघामा गरेको खेतीले पुर्याउन गाह्रो छ । थोरैथोरै गरेर दिने गरेको छु ।’

    पैसासमेत दैनिक पाइने भएपछि खेती गर्न उत्साह थपिने गरेको उहाँ सुनाउनुहुन्छ । किसान बलले केराखेतीमा पाँच जनालाई नियमितजस्तै काम दिने गर्नुभएको छ । पात काट्ने, गोडमेल गर्ने, मलजल गर्ने, केरा काट्नेलगायत काम हुन्छ ।

    उहाँ आफैँ पनि नियमित काम गर्ने भएकाले एक जना मजदुरको काम आफैँले भ्याउने गरेको उहाँको भनाइ छ । भारतीय केराका कारण बेलाबेलामा बजारमा समस्या हुने गरेको उहाँले सुनाउनुभयो । 

    भारत सरकारले किसानलाई खेती, लगानी र ढुवानी गरेर ९० प्रतिशतसम्म अनुदान दिएको केरासँग हाम्रो महँगो लगानीको उत्पादनले प्रतिस्पर्धा गर्नुपर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

    राज्यले थोरै राजस्वको लोभमा देशका किसानलाई पेसाबाट पलायन गर्ने नीति सुधार गर्नुपर्ने उहाँको माग छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर अपुग सामानमात्र भित्र्याउनुपर्ने उहाँ बताउनुहुन्छ । 

    कृषि गर्छु भन्नुभन्दा पनि किसानले आफूले लगाएको बिरुवाको भाषा बुझ्ने गरी अभ्यस्त हुनुपर्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार बोटबिरुवासँग बिहान, दिउँसो र बेलुका भेट गर्ने र उनीहरूको कुरा बुझेर मलजल गरेमात्र उत्पादन वृद्धि हुन्छ । 

    उहाँले भन्नुभयो, ‘उत्पादन बढेपछि मात्र आम्दानी बढ्ने हो ।’ बलले केराखेतीबाट सबै खर्च कटाएर मासिक एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेको भन्दै यस पेसाले आफूलाई सन्तुष्टि दिएको प्रतिक्रिया दिनुभयो । 

    –रासस