२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

सूर्य नेपालले दुई पालिकालाई दियो कृषि एम्बुलेन्स



  • आफ्नै खबर
  •     (२ महिना अघि)
  • पाठक संख्या ९७
  • तनहुँ/  सूर्य नेपाल प्रालिले दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउने उद्देश्यले कृषि एम्बुलेन्स सहयोग गरेको हो ।

    दुई पालिकालाई २६ लाख रुपैयाँ मूल्यका एक–एक थान कृषि एम्बुलेन्स हस्तान्तरण गरेको प्रालिका मानव संशाधन विभाग प्रमुख अन्जान दुवाडीले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई प्रमुख दुवाडीले एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो । 

    प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले आफूहरुको सहयोगपश्चात स्थानीय सरकारले कृषि क्षेत्रमा काम गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    नगरपालिकाका प्रमुख पण्डितले अब गाउँगाउँमा बारअनुसार तालिका बनाएर कृषि उपज सङ्कलन गरी बेलचौतारामा निर्माण गरिएको कृषि सङ्कलन केन्द्र सञ्चालनमा ल्याइने बताउनुभयो । किसानले न्यूनतम मूल्यमा कृषि एम्बुलेन्स प्रयोग गर्न पाउने भएकाले व्यावसायिक कृषि उत्पादनमा जोड दिन उहाँले आग्रह गर्नुभएको छ ।

    नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले केन्द्र सञ्चालका लागि महत्त्वपूर्ण सहयोग प्राप्त भएको जानकारी दिँदै केन्द्र सञ्चालन कार्यविधि तयार रहेको बताउनुभयो । उहाँले गाउँगाउँमा रहेको सामुदायिक भवनलाई कृषि सङ्कलन केन्द्रका रूपमा विकास गरी कृषि उपज बजार ल्याउन कृषि एम्बुलेन्स प्रयोग गरिने बताउनुभयो ।

    –रासस