२४ बैशाख २०८२ बुधबार | 07 May 2025 Wed

हलेसी तुवाचुङले बनायो ‘प्रतीक चिह्न’



  • आफ्नै खबर
  • २६ फागुन २०८१ सोमबार (२ महिना अघि)
  • पाठक संख्या १०९
  • खोटाङ/  हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवं पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।

    नगरपालिकाको १५ औँ नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले लोगो सार्वजनिक गर्नुभएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो ।

    पूर्वअर्थमन्त्री डा. महतसँगै सांसद सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राईलगायतले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गर्नुभएको हो ।

    नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका कार्यपालिकाको कार्यालयले यसअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको उक्त सूचनाका आधारमा सातवटा लोगो कार्यालयमा आएको नगरपालिकाले जनाएको छ । 

    नगरपालिकामा सङ्कलन भएका सात लोगोमध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका सन्तोष दाहालले बनाउनुभएको लोगो उत्कृष्टमा छनोट भएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाले औपचारिकरुपमा सार्वजनिक गरेको लोगो अब नगरपालिकाका सबै जनप्रतिनिधिले अनिवार्यरुपमा लगाउनेछन् । 

    हलेसी तुवाचुङ –७ महादेवस्थानमा रहेको हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरुको आस्थाको केन्द्र त्रिधार्मिकस्थल हलेसीलगायत ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेका क्षेत्र समेटेर लोगो निर्माण भएको नगरप्रमुख राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका हिमालको काखमा रहेकाले लोगोमा हिमाल पनि समेटिएको जनाइएको छ । 

    दश स्थानीय तह रहेको जिल्लामा यसअघि जिल्ला समन्वय समिति खोटाङले आफ्नो जिल्लाको प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याएको थियो । जिल्लाका अन्य स्थानीय तहले अहिलेसम्म आफ्नो छुट्टै लोगो प्रयोग गरेका छैनन् ।

    –रासस