९ असार २०८२ सोमबार | 23 Jun 2025 Mon

एक सय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा, पर्यटन प्रवर्द्धन हुन सक्ने



  • आफ्नै खबर
  • २७ फागुन २०८१ मंगलबार (३ महिना अघि)
  • पाठक संख्या १११
  • काठमाडौं/  संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएको छ । नेपाल भ्रमणमा आएका चिनियाँ फोटोग्राफरको टोलीलाई स्वागत गरिएको छ ।

    चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ कार्यक्रमअन्तर्गत उक्त टोली सोमबार नेपाल आएको हो । 

    टोलीलाई सांसद उर्मिला माझी र नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले स्वागत गर्दै चिनियाँ फोटोग्राफरको आगमनले नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । स्वागत कार्यक्रममा साङ्गीतिक समूह सुकर्मले आफ्नो प्रस्तुति समेत दिएको थियो ।

    नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा  कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धनका लागि एक महत्त्वपूर्ण अवसर हुने फोरमका संयोजक डा. कल्याणराज शर्माले जानकारी दिनुभयो ।

    चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिकस्थलको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवर्द्धन गर्नेछन् ।

    उनीहरूले फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रङ्गमय नेपालको फोटो खिच्ने राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

    चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली तथा परम्परागत सम्पदालाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने छन् । नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्याउन यस्ता कार्यक्रमले विशेष योगदान पुर्याउने विश्वास लिएको छ ।

    –रासस