२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

विपन्न समुदायका लागि नमूना बस्ती



  • आफ्नै खबर
  • १ चैत २०८१ शुक्रबार (२ महिना अघि)
  • पाठक संख्या ३२५
  • बाँके/  कोहलपुरमा अति विपन्न समुदायका लागि ४० लाख रुपैयाँको लागतमा नमूना बस्ती निर्माण सुरु भएको छ । कोहलपुर–१४ हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको हो ।

    नगरपालिकाको पहलमा छिमेक सेवा समाजले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि वर्षौंदेखि छाप्रोमा सकसपूर्ण जीवन बिताइरहेका उनीहरु पक्की घरमा बस्न पाउने छन् । 

    नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणमा आठ घर निर्माण थालिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । विपन्न परिवारको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले नमूना बस्ती निर्माण सुरु गरिएको उहाँले बताउनुभयो । 

    समाजले अन्य ठाउँमा पनि विपन्न समुदायका लागि नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत आवास बनाउने भएको छ । हवल्दारपुरमा करिब ३० परिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको कोहलपुर–१४ का वडाध्यक्ष नमबहादुर आलेले बताउनुभयो । 

    उहाँले आठ वटा घरका लागि ४० लाख रुपैयाँ लागत रहेको र शौचालय, पानी र बाटोका लागि स्थानीय सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।  

    सामाजिक अभियन्ता एलबी कार्कीले आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको बताउनुभयो । संस्थाले दुईकोठे पक्की घर बनाइदिनेछ । वर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरु पक्की घर पाउने भएपछि खुसी छन् । 

    गर्मीयाममा जसोतसो दिनरात कटे पनि वर्षायाम र चिसोयाममा सकसपूर्ण अवस्था व्यहोर्नु परेको मोलहे खटिकले दुखेसो सुनाउनुभयो । 

    पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओम प्रकाश चिडिमार, माताप्रसाद कुर्मीलगायत विपन्नका घर निर्माण हुनेछन् ।

    –रासस