२२ असार २०८२ आईतबार | 06 Jul 2025 Sun

गोरु पाल्ने किसानलाई पालिकाको अनुदान



  • आफ्नै खबर
  • १ चैत २०८१ शुक्रबार (४ महिना अघि)
  • पाठक संख्या १२८
  • गुल्मी/  चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिनेभएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र हल गोरु पाल्ने किसानलाई प्रतिकिसान तीन हजार रुपैयाँका दरले अनुदान दिने जनाएको छ । 

    अनुदान दिनका लागि पालिकाले दुई सय ५८ किसान छनोट गरेको छ । जसअनुसार वडा नं. १ मा २४, वडा नं. २ मा ३४, वडा नं. ३ मा नौ, वडा नं. ४ मा ३९ तथा वडा नं. ५ मा ६९ जना छन् । 

    त्यसैगरी वडा नं. ६ मा ३१, वडा नं. ७ मा १४ र वडा नं. ८ मा ३८ जना किसान छनोट भएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभयो । 

    अनुदानका लागि पालिकाले आवेदन खुलाएको थियो । जसमध्ये पालिकाले अनुगमन गरेपश्चात् कम्तीमा दुई वटा अर्थात् एक हल गोरु पाल्ने किसानलाई छनोट गरेको ज्ञवालीले जानकारी दिनुभयो । अनुदानको रकम सम्बन्धित वडाबाट वितरण गरिनेछ । 

    गाउँपालिका अध्यक्ष युवराज केसीले विविधतायुक्त कृषि प्रणालीलाई सहयोग गर्न अनुदान दिन थालिएको बताउनुभयो । ‘समथर र ठूला खालका जग्गामा यन्त्र उपकरण दिइएको छ’, उहाँले भन्नुभयो, ‘भिराला जग्गामा गोरुकै काम हुने भएकाले अनुदान दिन थालेका हौँ ।’

    –रासस