कञ्चनपुर/ शुक्लाफाटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाउनुभएको छ । उन्नत जातको आलुखेती गरी चौधरीले थोरै जग्गामा धेरै आलु फलाउनुभएको हो ।
उहाँले पहिलो पटक ‘कोमल कार्प’ नामक जातको आलुखेती गर्नुभएको छ । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दङ्ग पर्नुभएको छ ।
‘आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ’, चौधरीले भन्नुभयो, ‘कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बीउ ल्याएर रोपेँ । भने जस्तै फलेको छ ।’
पाँच रुपैयाँप्रति दानाका दरले आठ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उहाँले बताउनुभयो ।
पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु उहाँले बीउका रूपमा राखेर पुनः रोप्ने योजना बनाउनु भएको छ । उत्पादित आलुका दाना आधा किलोदेखि दुई किलोसम्मका रहेका छन् ।
यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो फल लाग्ने, खानमा स्वादिलो रहेको उहाँले बताउनुभयो । मङ्सिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको चौधरीको भनाइ छ । चौधरीले जिल्लामा शीतभण्डारगृह नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गर्नुभएको छ ।
‘घरमै राख्दा कुहिएर बिग्रिन्छ’, उहाँले भन्नुभयो, ‘शीतभण्डारमा राख्नुपर्ने हुन्छ । जिल्लामा एक मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीतभण्डारगृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ ।’
तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न रहँदै आउनुभएको छ । उक्त अवधिमा एघार प्रजातीका आलु लगाएर हेरेको उल्लेख गर्दै उहाँले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताउनुभयो ।
अन्य जातका आलुको उत्पादन प्रतिकठ्ठा पाँचदेखि सात क्विन्टलसम्म हुने गरेको छ । चौधरीले प्रतिवर्ष १२ कठ्ठादेखि एक विगाहा जग्गामा आलुखेती गर्दै आउनुभएको छ । उहाँले प्रतिवर्ष दुई सयदेखि तीन सय बोरा आलु उत्पादन गर्दै आउनु भएको छ ।
आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ । रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलुखेती गरे बढी उत्पादन लिन सकिने उहाँ बताउनुहुन्छ ।
आलु उत्पादन कार्यका लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि विचौलिया र व्यापारीले निर्धारण गरेको दररेटमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उहाँ बताउनुहुन्छ ।
किसानलाई मर्का नपर्नेगरी सरकारले धान, गहुँलगायत जस्तै आलुको पनि दररेट निर्धारण गर्नुपर्ने उहाँको माग छ । चौधरी उत्कृष्ट आलु उत्पादन गर्ने किसानका रूपमा तीन पटक पुरस्कृत भइसक्नु भएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस