३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

भुमेथानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने



  • आफ्नै खबर
  • ३ चैत २०८१ आईतबार (४ महिना अघि)
  • पाठक संख्या १४४
  • पर्वत/  धार्मिक एवं पर्यटकीय महत्वको भुमेथानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित पूर्वाधार निर्माण सुरु गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले सङ्घीय सरकारको चार करोड रुपैयाँ बजेटमा बहुवर्षीय ठेक्का लगाएर विभिन्न संरचना निर्माण गर्न थालेको हो । 

    भुमेथान, शिवालय क्षेत्र पूर्वाधार निर्माण योजनामार्फत पर्यटकीय संरचना निर्माण गर्न लागेको कार्यालयका इन्जिनियर गोपीचन्द्र आचार्यले जानकारी दिनुभयो । 

    योजनाअन्तर्गत भुमेथान परिसरमा ग्याविन तथा मेसिनरी पर्खाल निर्माण, ढुङ्गा बिच्छ्याउने, शौचालय निर्माण र भुमेथानबाट बराह शिवालय मन्दिर जानका लागि पदमार्ग निर्माण गरिने छ । पाँच सय मिटर लामो उक्त पदमार्गको चौडाइ तीन मिटर हुनेछ ।

    यसैगरी शिवालय क्षेत्रमा टेवा पर्खाल निर्माण गर्ने योजना रहेको इन्जिनियर आचार्यले जानकारी दिनुभयो । १८ महिनामा निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो । 

    गौशाला, देवालय शिवालय र भुमेथान क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माण थालिएको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । गाउँपालिकाको मुख्य धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । 

    धाइरिङ भुमेथानस्थित भुमेठाकुरको दर्शन, पूजाआजा र भाकल गरेमा मनोकाङ्क्क्षा पूरा हुने धार्मिक जनविश्वासले बर्सेनि करिब ५० हजारभन्दा बढी भक्तजन यहाँ आउने उहाँले बताउनुभयो । 

    अध्यक्ष आचार्यले भन्नुभयो, ‘यस क्षेत्रका धार्मिकस्थलमा पूर्वाधार निर्माण गरी गौशाला, देवालय, शिवालय, भुमेथान, कालाञ्जर पर्वत र जलजला क्षेत्रलाई जोडेर धार्मिक सर्किटका रूपमा विकास गर्ने पालिकाको योजना छ ।’ 

    सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा अहिले कालाञ्जर, जलजला र गौशाला क्षेत्रमा पनि करिब आठ करोड रुपैयाँभन्दा बढी लगानीमा पूर्वाधार निर्माण सुरु गरिएको उहाँले बताउनुभयो । 

    भुमेथानलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले ११ करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर पहिलो चरणमा सङ्घीय सरकारले रु चार करोड बजेट स्वीकृत गरी योजना अघि बढेको जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो । 

    भुमेथान क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि धार्मिक पर्यटक आगमनमा थप वृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष आचार्यले बताउनुभयो । भुमेथानको दर्शन गर्नका लागि पर्वत, बागलुङ, म्याग्दी, कास्कीलगायत जिल्लाका साथै यस क्षेत्रबाट बसाइँसराइ गरेर बाहिर गएकाहरूको उल्लेख्य सहभागिता रहने गर्छ । 

    –रासस