३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता



  • आफ्नै खबर
  • ३ चैत २०८१ आईतबार (४ महिना अघि)
  • पाठक संख्या १०३
  • काठमाडौं/  नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । 

    निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ । 

    १०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिउँदयामको माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो । 

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् मध्यभोटेकोशी जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाष कुमार मिश्र सम्मिलित टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसनको अनुगमन भ्रमण गरी निर्माण प्रगतिका विषयमा जानकारी लिएको छ । 

    मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाह हुने तामाकोशी–काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । 

    प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरु खडा भइसकेका छन् । करिब एक किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ । 

    ४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई तत्काल २०० केभीमा सञ्चालन (चार्ज)मा ल्याएर मध्यभोटेकोसीको विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रीडमा समाहित गरिनेछ । उक्त लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ । 

    कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीबाट खिम्ती–बाह्रबिसे लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा भइरहेका काम र गर्नु पर्ने बाँकी कामका विषयमा छलफल गरी बाँकी काम तत्काल अगाडि बढाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । 

    प्रसारण लाइनअन्तर्गत सिन्धुपाल्चोको त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कामकोसमेत टोलीले निरीक्षण गरेको थियो । 

    बाह्रबिसे नगरपालिका–५ स्थिति मध्यभोटेकोशी आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर २२० केभी  प्रसारण लाइन निर्माण भइसकेको छ । 

    तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाहका लागि तामाकोशी–काठमाडौं प्रसारण लाइन निर्माण गरिएको हो । बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ । आयोजनाअन्तर्गत नै  बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।