१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

भीमफेदीको कोदोखेती प्रवर्द्धन कार्यक्रम



  • आफ्नै खबर
  • ४ चैत २०८१ सोमबार (८ महिना अघि)
  • पाठक संख्या २२८
  • मकवानपुर/  भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीतर्पm कृषक आकर्षित भएका छन् । उक्त पालिकाले आव २०८१/८२ मा रैथाने बाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

    दुई रोपनीभन्दा बढी जग्गामा कोदो, फापरजस्ता रैथाने जातका अन्नवालीको खेती गर्ने चार सय २४ कृषकलाई उत्पादनका आधारमा अधिकतम २७ हजार आठ सय रुपैयाँसम्म प्रोत्साहन रकम बाँडिएको पालिकाका कृषि शाखा प्रमुख उज्ज्वल राना मगरले जानकारी दिनुभयो । 

    पालिकाका चार सय ५१ जना कृषकले दुई हजार पाँच सय १० रोपनी जग्गामा कोदोखेती गर्न यस वर्ष निवदेन दिएका थिए । उक्त जग्गामा करिब दुई सय ५५ मेट्रिक टन कोदो उत्पादन हुने पालिकाले जनाएको छ ।

    समग्र गाउँपालिकाभरि पाँच हजार १३ रोपनी क्षेत्रफलमा कोदोखेती हुने र त्यसमा पाँच सय नौ मेट्रिक टनसम्म कोदो उत्पादन हुने अनुमान गरिएको कृषि शाखा प्रमुख राना मगरले जानकारी दिनुभयो । यसैगरी, भीमफेदी गाउँपालिकाले रैथाने बाली कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ रुपैयाँ तोकेको छ ।

    उक्त गाउँपालिकामा आर्थिक वर्ष २०८०÷८१ देखि यो कार्यक्रम सुरु गरे पनि आर्थिक वर्ष २०८१/८२ बाट कृषि कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ बनाएर सञ्चालन गरेको हो ।  

    रैथाने खेतीबाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत चालु आवका लागि ३५ लाख रुपैयाँ  विनियोजन गरेको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष हिदम लामाले यसबाट परम्परागत एवं रैथाने बालीका रुपमा परिचित कोदोखेतीको प्रवर्द्ध तथा व्यावसायिक उत्पादनमा सहयोग पुग्ने र स्थानीय किसानको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    –रासस