१५ असार २०८२ आईतबार | 29 Jun 2025 Sun

‘किरात सांस्कृतिक भवन’ निर्माण 



  • आफ्नै खबर
  • ५ चैत २०८१ मंगलबार (३ महिना अघि)
  • पाठक संख्या १२४
  • भोजपुर/  टेम्केमैयुङ–९ लखर्कको पाँचधोरमा ‘किरात सांस्कृतिक’ भवन निर्माण सुरु गरिएको छ । किरात संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक भवन निर्माण थालिएको हो । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त ८० लाख रुपैयाँ लागतमा उक्त भवनको निर्माण भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरी निर्माण भइरहेको भवनको हालसम्म करिब ५० प्रतिशत काम सकिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । 

    ऐतिहासिकता प्रदान गर्न काठमाडौँबाट कालिगड ल्याएर किरात संस्कृति झल्कने कलात्मक भवन निर्माण भइरहेको उहाँको भनाइ छ । 

    ‘किरात संस्कृतिको संरक्षण विकाससँगै पुस्तान्तरण गर्ने लक्ष्यले यहाँ किरात सांस्कृतिक भवन निर्माण भइरहेको छ’, वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, ‘मुख्य रुपमा यहाँ किरात समुदायको संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन, वेशभूषा सङ्ग्रहित गरिनेछ । भवनमा राखिने सामग्रीले किरात संस्कृतिको झल्को दिनेछ । यहाँबाट किरात परिकारका बारेमा जानकारी प्रदान गर्ने लक्ष्य छ ।’

    निर्माण भइरहेको उक्त भवन ढुङ्गा, सुर्की र चुनाको प्रयोगबाट निर्माण भइरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिनुभयो । भवनको झ्याल, ढोका, निदल, दलिन, थामलगायतमा किरात संस्कृति झल्कने, ढोल, झ्याम्टा, चिण्डो, धनुवान, मुर्चुङ्गा विनायोको चित्र रहने छ । 

    पाँचधारेमा पर्यटनलाई लक्षित गरेर पाँचधारे पोखरी, किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण तथा पदमार्ग निर्माण गरिएको छ । हाल यहाँ निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्य रहेको वडाले जनाएको छ ।

    –रासस