आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

मुङखेती गर्ने किसानलाई अनुदान


  • आफ्नै खबर
  • २०८१ चैत्र ७, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • ३ पाठक संख्या
  • कञ्चनपुर/  मुङखेती गर्ने किसानलाई शुक्लाफाँटा नगरपालिकाले अनुदान दिने भएको छ । छोटो अवधिमा बढी उत्पादन दिने मुङको खेतीलाई विस्तार गर्ने उद्देश्यले नगरपालिकाले अनुदानको कार्यक्रम अघि सारेको हो ।

    प्रतिकठ्ठा एक हजार रुपैयाँका दरले किसानलाई अनुदान दिने व्यवस्था गरिएको छ । कम्तीमा तीन कठ्ठा र बढीमा एक बिघा जग्गामा मुङखेती गर्ने किसानलाई अनुदान दिइने नगरपालिकाको कृषि विकास शाखाका अधिकृत विनयराज जोशीले बताउनुभयो । उहाँका अनुसार किसानलाई अनुदान उपलब्ध गराउन नौ लाख रुपैयाँ बजेट परिचालन गरिने छ ।

    ‘मुङखेती छोटो समय अर्थात ६०–७० दिनमै उत्पादन दिनसक्ने बालीका रूपमा रहेको छ’, उहाँले भन्नुभयो, ‘यस बालीबाट कम लागतमा बढी फाइदा लिन सकिन्छ, यसले माटोको उर्वराशक्ति सुधार्ने र आगामी बालीको उत्पादन क्षमता बढाउने भएकाले किसानको आर्थिक र पर्यावरणीय दृष्टिकोणले यो खेती गर्नु उपयुक्त मानिन्छ ।’

    मुङखेतीले किसानलाई हरित मल, प्रोटिनयुक्त खाद्य र नगद आम्दानी प्रदान गर्ने उहाँको भनाइ छ ।

    शाखाका अधिकृत जोशीका अनुसार मुङमा २५ प्रतिशत प्रोटिन, सजिलै पच्ने गुण र पोषणका अन्य तत्वहरू पाइन्छन् । यसबाट पापड, दालमोठ, तितौरा, स्प्राउट्सलगायत विभिन्न परिकार बनाउन सकिन्छ । हरियो मुङको प्रयोग तरकारी, अचार र सलादका रूपमा पनि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । 

    ‘मुङखेतीबाट माटोमा नाइट्रोजन थपिन्छ, जसले माटोको उर्वराशक्ति बढाउँदै रसायनिक मलको आवश्यकता घटाउँछ’, कृषि विकास शाखाका प्रमुख करन बुढा ऐरले भन्नुभयो, ‘यसले किसानलाई आयआर्जन बढाउने मात्र नभइ पोषण सुरक्षामा पनि योगदान पुर्याउँछ । यी सबै कारणले मुङखेती शुक्लाफाँटा नगरपालिकाका लागि एक उत्कृष्ट र दिगो कृषि विकल्प बन्नसक्ने भएकाले अनुदानको कार्यक्रममा समेटेका छौँ ।’

    मुङखेतीसँगै नगरपालिकाले बहुवर्षिय घाँस उत्पादनमा संलग्न हुने किसानलाई पनि अनुदान दिने जनाएको छ । न्यूनतम दश कठ्ठा जग्गामा घाँसखेती गर्ने किसानलाई अनुदान रकम उपलब्ध गराइने नगर कार्यालयले जनाएको छ । 

    किसानलाई मुङ र घाँसखेतीमा अनुदान दिन १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले जानकारी दिनुभयो । 

    उहाँका अनुसार मुङखेतीमा जस्तै घाँसखेती गर्ने किसानलाई प्रतिकठ्ठा एक हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउने व्यवस्थागरिएको छ । किसान समूह, कृषि सहकारी, कृषि फार्म तथा उद्यमी किसानलाई अनुदान दिइने उहाँले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु