२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

४२ वर्षपछि लामीचौरमा सहज खानेपानी



  • आफ्नै खबर
  • ११ चैत २०८१ सोमबार (२ महिना अघि)
  • पाठक संख्या १५९
  • बागलुङ/  बागलुङ नगरपालिका–८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । 

    बयालीस वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दैआएका थिए । एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो । सहजै पानी भर्ने पालो आउँदैनथ्यो । २०३९ सालमा निर्माण गरेको धारा जीर्ण बनेका थिए ।

    लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन । यसपाली नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ । लामो समयको मेहनतपछि ड्रिलिङ गरेर पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

    नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो । पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो । 

    यही चैत १ गते मेसिनले करिब एक सय ७० मिटर जमिन खोदेर पानी निकालेको हो । चैत ९ गतेदेखि नियमित रुपमा पानी निकाल्न थालिएको लामीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिनुभयो ।

    अध्यक्ष थापाले भन्नुभयो, ‘गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ ।’ नगरपालिकाको रु २६ लाख र स्थानीय जनसहभागिताबाट जुटेको रु तीन लाखको लागतमा पानी निकालिएको हो । 

    स्थानीय बिना परियारले एक गाग्री पानी भर्नका लागि आठ घण्टासम्म लाइन बस्नुपरेको सुनाउनुभयो । खानेपानी अभावले धेरैले गाउँ छोड्न बाध्य भएको उहाँले बताउनुभयो । 

    स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताउनुभयो । जनसङ्ख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको उहाँले बताउनुभयो ।

    –रासस