खोटाङ/ वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ६ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्ससहित खुला ब्याडमिन्टन, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायतका उद्देश्यसहित महोत्सवको आयोजना गरिएको नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।
महोत्सवमा दश वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमुनिका छात्रछात्राका लागि दुई किलोमिटर, ६० वर्षमाथि पुरूषको दुई किलोमिटर, आमाहरूको पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिको छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ ।
पन्ध्र वर्षमाथिका पुरूष महिला दश किलोमिटर र महिला÷पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सवका लागि ३९ लाख ५५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ । जिल्लाका १० वटै स्थानीय तह र शुभेच्छुकको आर्थिक सहयोगमा महोत्सव गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस