२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौं टेक्निकल स्कुल



  • आफ्नै खबर
  • १२ चैत २०८१ मंगलबार (१ महिना अघि)
  • पाठक संख्या ७६
  • काठमाडौं/  आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडाँै टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल सञ्चालन गरिएको हो । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमास्कुलको शुभारम्भ गर्नुभयो । उक्त अवसरमा उहाँले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्नसकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

    मन्त्री भण्डारीले भन्नुभयो, ‘प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा छ । सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ ।’

    स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अगाडि बढ्ने उहाँले बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त स्कुल सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताउनुभयो । उहाँले सो स्कुलले हजारौँ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुआत गर्ने लक्ष्यका साथ स्कुल स्थापना गरिएको हो । यस स्कुलले विशेषगरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ ।’

    काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यमा स्कुलले सहयोग गर्ने बताउनुभयो । उहाँले स्कुलले युवालाई विश्वस्तरीय तालीम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो । 

    केटिएसले आफ्ना विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारसँग पनि सहकार्य गर्ने अध्यक्ष पौडेलको भनाइ थियो । 

    त्यस अवसरमा सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो । स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम सञ्चालन गर्ने जनाएको छ ।