२५ जेठ २०८२ आईतबार | 08 Jun 2025 Sun

महानगरमा स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान



  • आफ्नै खबर
  • १२ चैत २०८१ मंगलबार (२ महिना अघि)
  • पाठक संख्या ८७
  • काठमाडौं/  काठमाडौँ महानगरपालिकाले प्रजनन उमेरका महिलाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार अभियान सुरु गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ वैशाख १२ गतेसम्म सञ्चालन हुने गरी एक महिने अभियान सुरु गरिएको हो । 

    गत वर्ष परीक्षण छुट भएका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला र परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएका महिलालाई थप लक्षित वर्गमा राखिएको महानगरको कार्यक्रमका सम्पर्क व्यक्ति चन्द्रा भट्टले जानकारी दिनुभयो । 

    परीक्षण गराउन महानगर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सम्पर्क गरेर विवरण टिपाउनुपर्ने र केन्द्रबाट दिएको ‘रेफरल स्लिप’ लिएर परीक्षण गराउन सकिने उहाँँले बताउनुभयो । 

    अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डङ्गोलको उपस्थितिमा दुवै पक्षबीच आज नागरिकको निःशुल्क परीक्षणसम्बन्धी सम्झौता भएको छ । 

    वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले सबै नागरिकका लागि निःशुल्क सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरले आर्थिक सहयोग र वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्ने बताउनुभयो ।

    स्तन क्यान्सरको परीक्षण गर्दा प्रारम्भिक जाँचका क्रममा शङ्कास्पद देखिएमा अल्ट्रासाउन्ड गरिने र यसपछि मेमोग्राफीका लागि पठाइने त्यस अवसरमा जानकारी दिइयो ।

    पाठेघर मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० वर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण गरिनेछ । यसबाट पोजेटिभ रिपोर्ट आए कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।