१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

लिट्मस इन्डस्ट्रिजले सुरु गर्यो एल्युमिनियम रड उत्पादन

नेपालको पहिलो यस प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्य रुपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्ने



  • आफ्नै खबर
  • १३ चैत २०८१ बुधबार (८ महिना अघि)
  • पाठक संख्या १७७
  • काठमाडौं/  लिट्मस इन्डस्ट्रिज लिमिटेडले ‘लिट्मस २.०’ अन्तर्गत नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ । नवलपरासीको रामग्राम हकुईमा अवस्थित यस अत्याधुनिक उद्योगले नेपाली बजारमा हुने एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्ने उद्देश्य सहित उद्योग संचालनमा ल्याएको हो । 

    उद्योग संचालनको अवसरमा आयोजना गरिएको ‘फर्नेस फ्लेमिङ सेरेमोनी’ को उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले उद्घाटन गर्नुभएको थियो । 

     हाल नेपालमा तार, केबल र कन्डक्टर निर्माणमा प्रयोग हुने एल्युमिनियम रड आयातमार्फत पूर्ति हुँदै आएको छ । यस प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्य रुपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्ने कम्पनीले जनाएको छ । 

    एल्युमिनियम रडको स्वदेशमै उत्पादन गरेर, लिट्मस इन्डस्ट्रिजले नेपालले व्यहोरी रहेको व्यापार घाटा केही मात्रा भए पनि न्यूनीकरण गर्ने उद्देश्यका साथै सरकारी राजस्व बचतबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने कम्पनीको भनाइ छ ।  

    यस परियोजनाले उत्पादन, ढुवानी र बिक्री लगायतका क्षेत्रमा सयौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने दावी गरेको छ । लिट्मसले प्राविधिक ज्ञान अभिवृद्धि गर्ने तालिम तथा दक्ष जनशक्ति विकास कार्यक्रम पनि अघि सारेको छ । जसले दीर्घकालीन औद्योगिक विकासमा टेवा पु¥याउने जनाइएको छ ।

    नेपालको पहिलो एल्युमिनियम रड उत्पादन कम्पनीको सुरुवात हुनु लिटेमस इन्डस्ट्रिज लिमिटेडको लागि मात्रै नभई देशको समग्र उत्पादन क्षेत्रकै लागि एउटा ठूलो कोशेढुङ्गा र रणनैतिक फड्को भएको कम्पनीले जनाएको छ ।  

    लिट्मस इन्डस्ट्रिज लिमिटेड तार, केबल र कन्डक्टर निर्माता कम्पनी हो । यसले सुरक्षा, नवीनता र भरपर्दोपनमा निरन्तर उच्च मापदण्ड कायम गर्दै आएको दावी गरेको छ ।