२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

तीस करोडमा बन्यो अस्पताल भवन



  • आफ्नै खबर
  • १५ चैत २०८१ शुक्रबार (१ महिना अघि)
  • पाठक संख्या ७५
  • नवलपरासी पूर्व/  नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब १२ करोड रुपैयाँ र नेपाल हिल्फे संस्थाको १८ करोड रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो ।  

    साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले बताउनुभयो । नयाँ भवनबाट केही दिनमा सेवा दिन थालिने छ ।  

    पन्ध्र शय्याको अस्पतालले पुरानो भवनबाट ८० शय्याको सेवा दिँदै आएको छ । बिरामीको चाप धेरै भएकाले आफूहरूले स्वीकृत दरबन्दीभन्दा धेरै शय्या सञ्चालन गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा. आचार्यले बताउनुभयो । 

    स्वीकृत दरबन्दी पन्ध्र शैय्याको मात्र हुँदा जनशक्ति अभाव झेल्नु परेको उहाँको भनाइ छ । हाल अस्पतालमा स्थायी, करार र अन्य गरी एक सय ६४ कर्मचारी कार्यरत छन् । 

    सामुदायिक रूपमा सञ्चालित उक्त अस्पताललाई २०७५ सालमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । उक्त समय गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो । प्रदेश सकारको २०८१ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयले यस अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा अघि बढाएको हो । 

    अस्पतालले जग्गाको भोगाधिकार समेत प्राप्त गर्न सकेको छैन । जमिन भोगाधिकारका लागि पहल भइरहेको भए पनि अस्पतालको नाममा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । जमिनको भोगाधिकार नहुँदा अन्य दातासँग सहयोग लिन र नयाँ काम गर्न समस्या हुँदै आएको उहाँले बताउनुभयो । 

    अस्पतालको वार्षिकोत्सव कार्यक्रममा गत फागुन २८ गते यहाँ आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो अस्पताललाई एक सय शय्याको बनाउने आश्वासन दिनुभएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

    –रासस