१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

विपद् व्यवस्थापनका लागि गोदामघर निर्माण गरिँदै



  • आफ्नै खबर
  • १७ चैत २०८१ आईतबार (८ महिना अघि)
  • पाठक संख्या २१७
  • मनाङ/  जिल्लाका सबै पालिकामा गोदामघर निर्माण गरिने भएको छ । गृह मन्त्रालयको निर्णयानुसार विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका चारवटै पालिकामा गोदामघर निर्माण गरिने भएको हो ।

    प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्मा जिल्लावासीलाई सुरक्षित राख्न गोदामघर निर्माण गर्ने निर्णय भएको हो । 

    चारवटै पालिकामा खुला क्षेत्र पहिचान गरी विपद्का बेला उपयोग गर्नेगरी आवश्यक सामग्री र सुरक्षित बसोबासका लागि गोदामघर निर्माण गर्ने निर्णय भएको प्रजिअ आचार्यले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘गृहमन्त्रालयबाट निर्देश भएअनुसार सुरक्षालाई मध्यनजर गरी गोदामघर निर्माण गर्न खुला क्षेत्र पहिचान गर्ने तयारीमा छौँ । विपद्मा आमनागरिकलाई आवश्यक सामग्री र बस्ने व्यवस्थाका लागि गोदामघर सहयोगी बन्ने विश्वास छ ।’

    विगतमा भएका विपद्मा खाद्यान्न अभाव भएजस्तो समस्या आउनबाट रोक्न गोदामघर सहयोगी बन्ने उहाँको भनाइ छ । 

    गत वर्षको वर्षामा तिमाङको पुल नजिक थुप्रिएका अनावश्यक वस्तु हटाएर बाटोलाई सहज बनाउनुका साथै थप क्षति हुनबाट जोगाउन सम्बन्धित निकायलाई पत्रचार गरिएको प्रजिअ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘साँघुरो सडकमा सामग्री राख्दा यात्रुलाई समस्या हुने गरेको छ, यसको समाधानमा जुटेका छौँ ।’

    इलाका प्रहरी कार्याललाई तिमाङमा रहेको पाँच रोपनी क्षेत्रफलमा तिमाङ पुलमा थुप्रिएका अनावश्यक वस्तु स्थान्तरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । यसले स्थानीयका साथै प्रहरीलाई पनि सुरक्षित बनाउने उहाँको विश्वास छ ।

    –रासस