२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

बर्दघाटको अस्पताललाई ६ वटा डायलासिस मेसिन हस्तान्तरण 



  • आफ्नै खबर
  •     (१ महिना अघि)
  • पाठक संख्या ७३
  • काभ्रेपलाञ्चोक/  पश्चिम नवलपरासीको बर्दघाट–१४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पताल (चौपता अस्पताल) लाई ६ वटा हेमोडायलासिस मेसिन हस्तान्तरण गरिएको छ । काभ्रेको धुलिखेलमा एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य विनोद चौधरीको उपस्थितिमा मेसिन बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

    रोटरी क्लब अफ धुलिखेलको समन्वयमा जर्मन रोटरी भोलिन्टियर डाक्टरका तर्फबाट डाक्टर जोबस्ट इस्बरीले उक्त मेसिन उपलब्ध गराएको हो ।

    सांसद चौधरीले डायलासिस मेसिन उपलब्ध भएपछि पश्चिम नवलपरासीसहित नजिकका विरामीले लाभ लिन सक्ने बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘आज जर्मन रोटरी भोलिन्टियर डाक्टर र रोटरी क्लब अफ धुलिखेलको सहकार्यमा चौपता अस्पताल, बर्दघाटलाई ६ ओटा हेमोडायलासिस मेशिन हस्तान्तरण गरिएको छ । यसबाट पश्चिम नवलपरासीका मृगौला रोगीहरूको उपचारमा महत्वपूर्ण योगदान पुग्नेछ ।’ 

    धुलिखेल नगरपालिकाका मेयर अशोक व्यन्जुले मोफसलका सामुदायिक अस्पतालमा महत्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध हुँदा यसबाट नागरिकलाई लाभ हुने विश्वास व्यक्त गर्नुभयो । 

    यसअघि रोटरी क्लव अफ धुलिखेलले पश्चिम नवलपरासीमा ह्विल चेयर प्रदान गर्नुका साथै बर्दघाटको रेयुकाइ भवनमा आँखा क्लिनिक पनि संचालनमा सहयोग गरेको थियो । डायलासिस मेसिन हस्तान्तरण कार्यक्रममा नगर प्रमुर शम्भुलाल श्रेष्ठ, चौपता अस्पतालका अध्यक्ष डि.बी. रानासहितका पदाधिकारी पनि उपस्थित थिए । 

    सांसद चौधरीले अस्पतालका लागि डायलासिस मेसिन र त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई आग्रह गर्दै आउनुभएको थियो ।

    मन्त्री पौडेलले यसका लागि समन्वय गर्नुभएको थियो । स्वास्थ्यमन्त्री पौडेलले हेमोडायलासिस मेसिन संचालनका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न पनि सहयोग गर्ने जनाइसक्नुभएको छ

    ।