२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

धुमैया जलाधार क्षेत्रमा बढ्दै पर्यटक



  • आफ्नै खबर
  •     (१ महिना अघि)
  • पाठक संख्या ८४
  • बाँके/  राप्ती सोनारी गाउँपालिका–५ बिनौनाको टडुवास्थित धुमैया जलाधार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । 

    सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको धुमैया जलाधार क्षेत्रमा नेपालगञ्जको प्रचण्ड गर्मी छल्न आउने आन्तरिक पर्यटकहरु झरनामा नुहाउने, तस्बिर खिच्ने, भिडियो छायाङ्कन गर्ने र वनभोज खाएर रमाउने गरेका छन् । 

    गर्मीयाममा नेपालगञ्ज, कोहलपुरलगायतका सहरबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको स्थानीय चन्द्रप्रकाश रिजालले बताउनुभयो । जलाधार क्षेत्रमा प्रवेश गर्ने आन्तरिक पर्यटकलाई प्रवेश शुल्क रसिद काट्ने काम गर्दै आउनुभएका रिजालले गर्मीयाममा दैनिक तीनदेखी चार सय जना घुम्न पुग्ने गरेको जानकारी दिनुभयो । 

    गर्मीयाममा प्राकृतिक रुपमा बगिरहेको झरनामा नुहाउने र पोखरीमा पौडी खेल्न यहाँ आउने गरेको राप्ती सोनारी–३ बैजापुर निवासी टारजन वलीले बताउनुभयो । पछिल्लो पटक टाढाबाट समेत मानिसहरु जिप, कार र मोटरसाइकलमा आएर दिनभर रमाउने गरेको उहाँको भनाइ छ ।

    सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा भएको सामान्य पूर्वाधार विकाससँगै खानेपानीको धारा, पौडी खेल्न मिल्ने पोखरी र वनभोज गर्न मिल्ने सामान्य संरचना निर्माण भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको स्थानीय जुद्धबहादुर पुनले बताउनुभयो । 

    जैविक विविधता, प्राकृतिक सौन्दर्य र सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सविन पुनले उल्लेख गर्नुभयो । 

    ‘बजेट अभावमा पूर्वाधार विकास गर्न सकिएको छैन, तर पनि पछिल्लो समय घुम्न आउने पर्यटकको संख्या बढ्दो छ’, उहाँले भन्नुभयो, ‘शनिबार र सार्वजनिक बिदाको दिन यहाँ आउने पर्यटकको भीडभाड हुने गर्दछ ।’

    धुमैया जलाधार क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका लागि गाउँपालिका र प्रदेश सरकारसँग बजेट माग गरे पनि कहीँबाट बजेट विनियोजन हुन नसकेको उहाँको गुनासो छ । बर्सातमा बाढीले भत्काएको सडक समेत बजेट अभावले निर्माण गर्न नसकिएको पुनले जानकारी दिनुभयो । 

    सदरमुकाम नेपालगञ्जबाट करिब २५ किलोमिटर पूर्वमा राप्ती नदीपारि अवस्थित धुमैया जलाधार क्षेत्र पुग्न बिनौना चिलहरिया चोकसम्म पक्की हुलाकी राजमार्ग रहेको छ । चिलहरिया चोकदेखि करिब तीन किलोमिटरको कच्ची सडक पार गरेपछि सजिलै यहाँ पुग्न सकिन्छ । 

    गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले धुमैया जलाधार क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । 

    –रासस