२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

मुटु रोग उपचारका लागि नगरवासीलाई ५० हजार



  • आफ्नै खबर
  •     (१ महिना अघि)
  • पाठक संख्या ९०
  • काठमाडौं/  टोखा नगरपालिकाले मुटु रोग उपचारका लागि नगरवासीलाई ५० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को हिउँदे नगरसभाबाट संशोधन गरेर १० लाख रुपैयाँ बजेटबाट नगरवासीलाई मुटु रोग उपचारमा ५० हजार रुपैयाँसम्म सहयोग गर्न लागेको हो । 

    यसका लागि नगरपालिकाले सहिद गङ्गालाल हृदयरोग केन्द्रसँग सम्झौतासमेत गरेको छ । सम्झौतापत्रमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रवि मल्लले हस्ताक्षर गर्नुभएको छ ।

    कार्यक्रममा नगरपालिका प्रमुख अधिकारीले मुटु रोग उपचारका लागि नगरवासीलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले उक्त कार्यक्रमलाई अगाडि बढाइएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘टोखाले वडाको सिफारिसका आधारमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ र गरिब तथा विपन्न वर्गका लागि ५० हजार रुपैयाँसम्म सहयोग गर्नेगरी सम्झौता गरेको छ । यसले टोखाका बासिन्दालाई थोरै भए पनि मुटुरोगको उपचारमा सहयोग पुग्नेछ ।’

    उक्त सेवा लिनका लागि नगरवासीले स्थायी बसोबास गरेको देखिने नागरिकताको प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र, अतिविपन्न नागरिक भएको वडा कार्यालयको सिफारिसपत्र आवश्यक पर्नेछ । यस्तै, नगरभित्र स्थायी बसोबास गर्ने जोसुकैले पनि मुटुको उपचार गर्दा २५ हजार रुपैयाँ सहयोग पाउनेछन् ।

    बिरामीको उपचार गरेपश्चात् सम्झौताअनुसारको रकम लिनका लागि अस्पतालले नगरपालिकामा आवश्यक कागजात पेस गरेर मात्र लिन सक्ने व्यवस्था सम्झौतापत्रमा उल्लेख गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मल्लले नगरपालिकाको सम्झौताअनुसार अस्पतालले सेवा प्रदान गर्ने बताउनुभयो । 

    कार्यक्रममा टोखाका उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीलगायत टोखाभिका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।

    –रासस