२४ बैशाख २०८२ बुधबार | 07 May 2025 Wed

गोकर्णेश्वर नगर साहित्य पुरस्कार त्रिपाठी र चालिसेलाई 



  • आफ्नै खबर
  •     (१ महिना अघि)
  • पाठक संख्या २०३
  • काठमाडौं/  यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार प्रा.डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिने भएको छ । भाषा, साहित्य, कला, संस्कृति लगायतका माध्यमबाट राष्ट्रिय योगदान पुर्याएकोमा सम्मान स्वरुप प्रा. डा. त्रिपाठी तथा चालिसेलाई अर्पण गरिने भएको हो । 

    साहित्यकार द्वय गोविन्दप्रसाद घिमिरे ’वेदमणि’ तथा बाजुराम पौडेलको चयन समितिको सिफारिस अनुसार पुस्कृत स्रष्टाहरूको घोषणा गरिएको हो ।  

    नगर साहित्य पुरस्कार तथा सम्मान कार्यक्रम २०८१ चैत्र २२ गते (शुक्रवार) अपराह्न गोकर्णेश्वर ८ बेसीगाउँमा आयोजना हुने छ । पुरस्कृत साहित्यकारहरूलाई दोसल्ला, अभिनन्दन पत्र तथा फूलमालाले सुसज्जित गर्दै जनही १ लाख रुपैयाँको पुरस्कार अर्पण गरिने नगरपालिकाले जनाएको छ । 

    सो समारोहमा यस नगरपालिकाको आर्थिक अनुदानमा प्रकाशित तीन बृहत् ग्रन्थहरूको  लोकार्पण समेत हुने जनाइएको छ । 

    गत वर्ष प्रा.डा. ऋषिराम पोखरेल र गीतकार एवं वरिष्ठ कवि कञ्चन पुडासैनीलाई उक्त पुरस्कारले सम्मानित गरिएको थियो ।  नगरपालिकाले शिक्षा–स्वास्थ्य, कला–साहित्य–संस्कृति, पूर्वाधार विकास तथा खेलकुद लगायत विभिन्न क्षेत्रमा गर्दै आएको योगदानकालागी नागरिक स्तरबाट मात्र नभै देश विदेश बाट पनि प्रशंसा पाउदै आएको नगर प्रमुख दीपक कुमार रिसालले बताउनुभयो । 

    पुरस्कृतको परिचय

    समालोचक वासुदेव त्रिपाठी
    १९९९ साल चैत १३ गते वासुदेव त्रिपाठीको जन्म गण्डकी अञ्चलको तनहूँमा भएको थियो । 

    २०३० सालमा त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्रमुख हुनुभएका उहाँ २०३४ सालमा नेपाली विभागको प्राध्यापकमा बढुवा हुनुभएको थियो । उहाँले २०३४ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । 

    नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति रहनुभएका उहाँ त्रिभुवन विश्वविद्यालयको मानविकी कार्यक्रमको पूर्वडीन समेत हुनुहुन्छ । 

    विजय चालिसे
    चालिसेको जन्म २००८ साल असार २२ गते काठमाडौँको जोरपाटी आरुबारीमा भएको थियो । उहाँ साहित्यकार रमेश विकलका पुत्र हुनुहुन्छ । 

    प्राद्यापन, पत्रकारिता, साहित्य मा योगदान गर्नुभएका उहाँ गोरखापत्र संस्थानका पूर्व प्रधान सम्पादक तथा पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।