काठमाडौँ/ नेपाल उद्योग परिसङ्घ (सिएनआई) र थाई उद्योग महासङ्घ (एफटीआई) बीच लगानी प्रवर्द्धन तथा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणका क्रममा दुई देशका निजी क्षेत्रबीच लगानी प्रवर्द्धन, आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि समझदारी भएको सिएनआईले जनाएको छ ।
समझदारीपत्रमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गर्नुभयो । परिङ्घको विज्ञप्तिमा भनिएको छ, ‘लगानी तथा व्यापार प्रवर्द्धनसँगै आर्थिक तथा व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदान–प्रदानलगायतमा सहकार्य गर्न दुई संस्थाबीच समझदारी भएको हो ।’
विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्याण्डको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसङ्घका अध्यक्ष अग्रवालले गर्नुभयो । लगानी प्रवर्द्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनहरुमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उहाँको भनाइ थियो ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको उपस्थितिमा आज नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र थाइल्याण्डका तर्फबाट पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङ हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस