२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

गजेन्द्रमोक्ष–मुक्तिनाथ रथयात्रा टोली म्याग्दीमा



  • आफ्नै खबर
  •     (१ महिना अघि)
  • पाठक संख्या ७८
  • म्याग्दी/  धार्मिक पर्यटन प्रवर्द्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षण र धार्मिक सद्भावको उद्देश्यसहित नवलपरासीको गजेन्द्रमोक्ष धामबाट मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली बेनी पुगेको छ ।  

    स्वामी कमलनयनाचार्यको नेतृत्वमा यही चैत १८ गजेन्द्रमोक्षधामदेखि सुरु भएको रथयात्रा टोली देवघाट, पोखरा, बागलुङ हुँदै म्याग्दी आएको हो । 

    भजनकीर्तनसहित आइपुगेको रथयात्रा टोलीलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतले बेनीमा स्वागत गर्नुभएको थियो ।  बेनी बजारवासीले घरअगाडि जलघडा राखेर स्वागत गरेका छन् ।  

    बेनीदेखि धार्मिक स्थल गलेश्वर मन्दिरसम्म पैदलयात्रा गरेको रथयात्राको टोली २४ गते मुक्तिनाथ पुगेर ६ महिने धार्मिक महोत्सव सुरु गर्ने कार्यक्रम छ । 

    वैदिक सनातन संस्कार–संस्कृति, शालिग्राम, कालीगण्डकी, गोवंश, जल, प्रकृति, पर्यावरण संरक्षण, सामाजिक एकता, राष्ट्रियता र आदर्श समाजको निर्माण तथा पर्यटन प्रवर्द्धन गर्नाका साथै विश्वशान्ति र राष्ट्र समुन्नतिको कामना गर्ने उद्देश्यले रामनवमी पर्वको अवसरमा रथयात्रा आयोजना गरिएको स्वामी कमलयनाचार्यले बताउनुभयो । 

    वेद, उपनिषद्, रामायण, महाभारत, पुराण, गीता, विष्णुसहश्रनामलगायत स्तोत्ररत्नादि वैदिकशास्त्रको पाठपाराणय, भगवद् आराधनासहित विशेष अनुष्ठान र हवन गरिने ६ महिनासम्म सञ्चालन हुने महोत्सवमार्फत पाँच लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । 

    रथयात्रा र धार्मिक महोत्सवले कालीगण्डकी किनारका धार्मिक पर्यटकीयस्थलहरुको पहिचान, प्रचारप्रसार र प्रर्वद्धनका साथै संरक्षण र विकासमा राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ ।

    –रासस