२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

स्ट्रबेरीखेतीमा भविष्य खोजिरहेका किसान 



  • आफ्नै खबर
  •     (१ महिना अघि)
  • पाठक संख्या १०२

  • बाँके/  बैजनाथ गाउँपालिका–१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित हुनुभएको छ । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो । 

    कृषिमा केही नयाँ गर्ने सोचका साथ उहाँले बैजनाथमा करिब साढे पाँच कट्ठा जग्गामा सात लाख रुपैयाँको लगानीमा स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । स्ट्रबेरी निकै रुचाइएको फलफूलमा पर्दछ । बजारमा यसको माग बढिरहेको छ । 

    ‎स्वास्थ्यलाई ध्यानमा राख्दै सर्पराजले रसायनरहित जैविक र आधुनिक प्रविधिबाट स्ट्रबेरी लगाउनुभएको छ । रासायनिक मलको ठाउँमा गोठे मल, झोल मल, तितेपाती, निमको पात र गाईको पिसाब प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘बिरुवामा किरा लागे वा फल नाश हुन लागेमा घरमै उपलब्ध झारपातको प्रयोग गर्ने गरेको छु, जसले गर्दा स्ट्रबेरी स्वादिलो, गुणस्तरीय र स्वस्थ पनि हुन्छ ।’

    सामान्यतया नेपाली समयअनुसार असोजमा स्ट्रबेरीको बिरुवा रोप्ने गरिन्छ भने ७५ देखि ८० दिनमा यो बिक्रीका लागि तयार भइसकेको हुन्छ । सर्पराजले यसपटक दुई महिना ढिलोगरी मङ्सिर १ गते आसपास बिरुवा रोप्नुभएको थियो । बिरुवा रोप्नमा ढिलाइ भए पनि बिरुवाले दिनुपर्ने मात्रामा फल दिएको छ । 

    माघको अन्तिम सातादेखि उहाँको स्ट्रबेरी बिक्री हुन सुरु भइसकेको थियो । उहाँका अनुसार नयाँ र धेरै प्रचारप्रसार नभएकाले बाहिरबाट त्यति धेरै माग भने आएको छैन । सर्पराजको स्ट्रबेरीको स्वाद कोहलपुर, नेपालगञ्जसँगै सुर्खेतसम्म फैलिएको छ । घरबाटै पनि दैनिक २० देखि २५ किलोको हाराहारीमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । 

    ‎प्रतिबिरुवाले आधा किलोदेखि एक किलोसम्म फल दिन्छ । उहाँले यो फल खुद्रामा प्रतिकिलो सात सय रुपैयाँ र थोकमा ६ सय रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दै आउनुभएको छ । माघदेखि हालसम्म करिब नौ क्विन्टल बिक्री गरिसकेको उहाँको भनाइ छ । 

    यो अवधिमा करिब पाँच लाख रुपैयाँ जति आम्दानी भएको छ । उहाँको फार्ममा अहिले जापानिज क्यामरोज जातका करिब सात हजार आठ सय बिरुवाले फल दिइरहेका छन् । 

    ‘तराई क्षेत्रमा गर्मी दिन प्रतिदिन बढ्दै छ । गर्मी याममा बिरुवा जोगाउन मुस्किल पर्छ’, सर्पराजले  भन्नुभयो, ‘अब फल फलाउनुभन्दा पनि बिरुवा कसरी जोगाउने र अर्को वर्षका लागि बिरुवा कसरी तयार गर्ने भन्ने योजनामा छु ।’

    उहाँका लागि स्ट्रबेरीखेती विल्कुल नयाँ भए पनि मेहनत गरे सफल भइन्छ भन्ने विश्वासले उहाँले बस्नेत कृषि तथा पशुपन्छी फार्म दर्तागरी खेती सुरु गर्नुभयो । 

    सुरुमा उहाँलाई धेरै जनाले यो खेती सफल नहुने भन्दै मनोबल घटाउने कोसिस पनि नगरेका होइनन् । अहिले मेहनतको फल फलाएर देखाउन सफल भएको उहाँ बताउनुहुन्छ । माटो परीक्षण गरी आफ्नो माटोमा सुहाउँदो बिरुवा लगाए कुनै पनि खेती वा व्यवसाय सफल हुने उहाँको बुझाइ छ । 

    ‎स्ट्रबेरीलाई नेपालीमा भुइँ काफल पनि भन्ने गरिन्छ । प्रशस्त घामको प्रकाश पुग्ने र सिँचाइको सुविधा पुर्याउन सकिने ठाउँमा यसको खेती राम्रो हुने गरेको छ ।

    –रासस