२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण



  • आफ्नै खबर
  •     (१ महिना अघि)
  • पाठक संख्या ८९
  • भोजपुर/  भोजपुर नगरपालिका–४ दावामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरिएको छ । ‘कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ले यहाँका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको हो । 

    विद्यालयको ७७औँ वार्षिकोत्सव तथा आफ्ना पिता स्वर्गीय माधवप्रसाद श्रेष्ठको स्मृतिका अवसरमा बिहीबार विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकलाई पोसाक (ट्र्याक सुट) वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो । 

    मातृभूमिको सेवा तथा सामाजिक कार्य गर्ने लक्ष्यसहित स्थापित प्रतिष्ठानले विभिन्न समयमा सहयोगका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । 

    श्रेष्ठले भन्नुभयो, ‘मेरो बुवाले पनि यही विद्यालयमा पढ्नु भएको हो । स्वार्गीय बुवाको समाज सेवाको भावनालाई निरन्तरता दिन हामी तीन दाजुभाइ (रोशन श्रेष्ठ, क्याप्टेन रमेश श्रेष्ठ र रविन श्रेष्ठ)ले विद्यार्थीलाई पोसाक वितरण गरेका हौँ ।’ 

    एकरुपतासँगै पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले आवश्यक पोसाक वितरण गरिएको क्याप्टेन रमेश श्रेष्ठले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक सुवासचन्द्र दाहालले पोसाक वितरणले विद्यार्थीमा एकरुपता र पठनपाठनमा सहजता थप्ने विश्वास व्यक्त गर्नुभयो । 

    निःशुल्क रुपमा पोसाक पाउँदा विद्यार्थी उत्साहित भएका र कतिपय आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई समेत यसले लाभ पुगेको उहाँको भनाइ थियो ।

    –रासस