२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

काम खोज्दै घण्टाघर धाउनेहरु...



  • हिमाल लम्साल
  •     (१ महिना अघि)
  • पाठक संख्या ७८
  • पर्सा/  वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरुको चहलपहल ह्वात्तै बढ्ने गर्छ । घण्टाघर चोकको छेवैमा रहेको नेपाल टेलिकमको भवनअगाडिको मुख्य सडकमा साइकल पार्किङ गरेर श्रमिकहरु सडकमा नै रोजगारदाताको पर्खाइमा बसिरहेका हुन्छन् । 

    सडकमा बसिरहेका श्रमिकतर्फ फर्किएर नजर लगाउने नयाँ मान्छे देख्ने बित्तिकै कामको खोजीमा आएका श्रमिकहरु ‘काम दिने नाइके वा रोजगारदाताको मान्छे हो कि ?’ भन्दै झुम्मिने गर्छन् ।

    यो दृश्य घण्टाघर चोकमा वर्षाैंदेखि जारी छ । अन्य दिनजस्तै चैत २१ गते पनि वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताका रामबालक चौहान बिहानको नृत्यकर्म सकेपछि कामको खोजीमा वीरगञ्जको घण्टाघर चोकमा आउनुभएको छ । 

    ‘कति बेला काम दिने नाइके आउँछन् भनेर हेरेको हेर्यै गरेका हुन्छौँ’, घण्टाघरतर्फको घडीको सुई देखाउँदै चौहानले भन्नुभयो, ‘हेर्नुस् त अहिले बिहानको ९ बजिसक्यो, काम दिने मान्छे अहिलेसम्म आइपुगेका छैनन् ।’

    ४७ वर्षे चौहान आफ्नै गाउँघरमा काम नपाएपछि रोजीरोटी चलाउनका लागि घण्टाघर धाउनुपर्ने बाध्यतामा रहेको सुनाउनुहुन्छ । चौहान आफू राजमिस्त्री भएको बताउनुहुन्छ । 

    ‘आफ्नै गाउँघरमा काम पाए त किन यहाँ धाउनुपथ्र्याे र ?’ उहाँले भन्नुभयो, ‘६ छोरी र एक छोरा पाल्नुपर्ने बाध्यताले नै यहाँसम्म डो¥याएको हो । दुःखजिलो गरेर भए पनि छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएको छु ।’

    उहाँ काम पाउँदा दैनिक नौ सय रुपैयाँ कमाई हुने बताउनुहुन्छ । ‘जग्गाको नाउँमा पाँच धुरमा एउटा घर मात्रै छ’, उहाँले भन्नुभयो, ‘दैनिक नौ सय रुपैयाँको ज्याला मजदुरीले आफूसहित नौजनाको परिवार पाल्नुपर्ने जिम्मेवारी छ ।’

    चौहानले नियमित काम नपाउँदा खानलाउन पनि समस्या हुने गरेको गुनासो गर्नुभयो । वीरगञ्जको घण्टाघर चोकमा कामको खोजीमा भौँतारिनेमा चौहान एक्ला हुनुहुन्न । उहाँजस्तै दिनहुँ कामको खोजीमा यहाँ सयौँ मजदुर आउने गर्छन् । 

    दिनहुँ कामको खोजीमा धाउनेमा वीरगञ्ज महानगरपालिका–२२ का ४५ वर्षे राज करिम पनि हुनुहुन्छ । ‘काम पायो भने त सात जनाको परिवार पाल्न कुनै गाह्रो छैन’, उहाँले भन्नुभयो, ‘काम पाएन भने परिवारका सदस्यलाई के खुवाउने भन्ने चिन्ताले सताउने गर्छ ।’

    उहाँ मजदुरको ज्यालादारी पनि समान नभएको गुनासो पोख्नुहुुन्छ । ‘हाम्रो कामको कुनै दररेट छैन । कसैले एक दिनको सात सय ५० रुपैयाँ दिन्छन् । कसैले ६ सय रुपैयाँ, के गर्नु काम नगरेर पनि भएन’, उहाँले भन्नुभयो, ‘पहाडी जिल्लाको तुलनामा तराई–मधेसमा ज्याला निकै कम पाइने गर्छ ।’

    वीरगञ्ज महानगर–२ छपकैयाका रामपुकार साह भाग्य बलियो भएको दिन मात्रै काम पाइने बताउनुुहुन्छ । ‘दिनदिनै कामको खोजीमा आउने गर्छाैं । तर कुनै दिन काम पाउँछ, कुनै दिन रित्तै हात फर्किनुपर्छ’, उहाँले भन्नुभयो, ‘काम पाइएन भने त बूढीआमासहितको सातजनाको परिवारलाई के खुवाउने भन्ने चिन्ताले सताइहाल्छ नि ।’ 

    साहले चार छोरा, श्रीमती र आमासहितको परिवारको गर्जाे टार्दै आइरहेको बताउनुभयो । ‘म कहिल्यै यो काम, त्यो काम भन्ने गर्दिनँ’, उहाँले भन्नुभयो, ‘जे काम पाइन्छ त्यही गर्ने हो । हामी यहाँ पनि काम गर्नकै लागि आएका हौ नि ।’

    ‘दिनको दुई बजेसम्म पनि आधा दिनको भएनि काम पाइएला कि भनेर पर्खिने गर्छाैं’, उहाँले भन्नुभयो, ‘दुई बजेपछि भने काम पाइएन भन्दै फर्किने हो ।’

    घण्टाघरमै भेटिनुभएका समिमा कन्स्ट्रक्सन प्रा.लि. वीरगञ्जका सञ्चालक नियाजबाबु शेखले प्रसौनी नरकट्टियामा नाला निर्माणका लागि १५ जना मजदुरको खोजीमा आएको बताउनुभयो । 

    ‘प्रसौनी नरकट्टियामा नाला बनाउने कामको ठेक्का लिएका छौँ । त्यसका लागि मजदुर चाहिएर यहाँ लिन आएको हुँ’, उहाँले भन्नुभयो, ‘आवश्यकता अनुसारका मजदुरहरु भेटिने भएकाले पनि यहाँ आउने गर्छौं ।’ सञ्चालक शेखले औसतमा मजदुरहरुको दररेट ६ सय देखि सात सय रुपैयाँ रहेको बताउनुभयो ।

    रौतहटको गौर नगरपालिका–६ सबगाडा स्थायी घर भएका मोहमद मम्ताज मिया पनि विगत पाँच वर्षदेखि घण्टाघर चोकमा कामको खोजीमा दिनहुँ धाउनेमा पर्नुहुन्छ । 

    ‘लेबर मजदुरको काम दिनदिनै भने पाइँदैन । तीन दिन काम गर्यो । फेरि तीन दिन बस्नुपर्ने बाध्यता छ’, उहाँले भन्नुभयो, ‘पछिल्लो समय मन्दीका कारणले घरहरु कम बन्दा पनि काम पाउन मुस्किल भइरहेको छ ।’

    मियाँ मुस्किलले दैनिक साढे तीन सय रुपैयाँ बचत गर्ने बताउनुहुुन्छ । ‘गाउँघरमा बुबाआमासहितको परिवार पाल्नुपर्ने दायित्व छ’, उहाँले भन्नुभयो, ‘काम पाउँदा त जेनतेन गुजारा चलाउँदै आइरहेका छौँ ।’ 

    वीरगञ्ज महानगरपालिका–२१ पटेल नगरका वीरेन्द्र पटेल आफ्नो घरको भुइँ ढलान गर्नका लागि दुईजना मजदुर खोज्न घण्टाघर चोकमा आउनासाथ मजदुरहरुले ‘मलाई लैजानुस्’ भनेर तँछाडमछाड नै गरे । ‘यहाँ मजदुर छानीछानी लैजान पाइने भएकाले पनि आएको हुँ’, उहाँले भन्नुभयो, ‘गाउँघरमै काम गर्ने मान्छे नपाएपछि त यहाँ आउनुपरेको हो ।’

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले वीरगञ्जको घण्टाघर चोक रोजगारदाता र श्रमिकका लागि ‘श्रमिक बैङ्क’ जस्तै गरेर चल्दै आइरहेको बताउनुभयो । 

    ‘घण्टाघर चोकमा खासगरी अदक्ष खालका श्रमिकहरु कामको खोजीमा आउने गर्छन् । उनिहरु विशेष गरेर निर्माण क्षेत्र र ‘लोडअनलोड’ गर्ने प्रकृतिका मौसमी श्रमिक हुन्छन्’, उहाँले भन्नुभयो, ‘कसैको घर ढलान गर्नका लागि ३० जना श्रमिक चाहियो भने नाइके आएर श्रमिक लिएर जाने परम्परा छ ।’ 

    अध्यक्ष गौतमले घण्टाघरमा कामको खोजीमा आउने श्रमिकलाई उद्योगधन्दामा काम लगाउन अप्ठेरो हुने गरेको बताउनुभयो । 

    ‘उद्योगधन्दामा नयाँ खालका मजदुरलाई बिस्तारै काम सिकाएर काम गराउने गर्छाैं’, उहाँले भन्नुभयो, ‘मौसमी काम गर्ने मजदुरलाई उद्योगधन्दामा काम लगाउन धेरै गाह्रो छ । उनीहरु नियमित काममा नआउने प्रवृत्तिले पनि मौसमी मजदुर व्यवस्थापन गर्न समस्या हुने गर्छ ।’

    बारा–पर्सा औद्योगिक करिडोरमा अधिकांश भारतीय मजदुर कार्यरत छन् । करिडोरमा झन्डै ५० हजार कामदार कार्यरत रहेको बताइन्छ । पर्सा र बारामा सानाठूला उद्योगधन्दा कति छन् भन्ने यकिन तथ्याङ्क छैन, तर आठ सय देखि एक हजार दुई सय को हाराहारीमा उद्योगधन्धा रहेको अनुमान गरिएको छ । 

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार पर्सा जिल्लामा औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार ६ सय ४६ रहेको छ । त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या एक सय २६ रहेको छ । 

    बारामा पनि औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार दुई सय २५ रहेको छ । त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या भने एक सय ५२ रहेको छ ।

    –रासस