२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

बढ्दो छ खेतीमा यन्त्रको प्रयोग 



  • आफ्नै खबर
  •     (४ हप्ता अघि)
  • पाठक संख्या ७२
  • दाङ/  यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् । 

    घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गर्नुभएको छ । उहाँले खेत जोत्न र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आउनुभएको छ ।  

    उहाँले भन्नुभयो, ‘खेतबारीमा काम गर्ने खेताला पाइँदैन, यन्त्रको सहायताले खेती गर्न सजिलो भएको छ । तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको हुँ । थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको उहाँले बताउनुभयो । यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको छ ।’ 

    घोराही–१७ कर्जाहीका आशाराम चौधरीले पनि थ्रेसरको प्रयोग गरेर जौ, गहुँ र तोरी दाउनुभयो । उहाँले भन्नुभयो, ‘खेताला लगाउँदा चार–पाँच दिन लाग्थ्यो अब थ्रेसरको सहायताले सजिलो भएको छ । थ्रेसरका माध्यमबाट कम समयमा धेरै काम हुने भएकाले किसानलाई राहत मिलेको छ ।’ 

    घोराही उपमहानगरपालिकाले हाते ट्र्याक्टर, थ्रेसर, मल छर्ने मेसिन, सिँचाइका उपकरण अनुदानमा वितरण गर्दै आएको नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मागका आधारमा थ्रेसरलगायत उपकरण पालिकाले आधा मूल्यमा वितरण गर्दै आएको छ ।’

    –रासस