२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

अनाथ बालबालिकालाई आवाससहित निःशुल्क शिक्षा



  • आफ्नै खबर
  •     (१ महिना अघि)
  • पाठक संख्या ८८
  • डोटी/  बडीकेदार गाउँपालिकाले अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । गाउँपालिकाले वडा नं १ स्थित दुर्गा माध्यमिक विद्यालय देउलीमा छात्रावास सञ्चालन गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गर्ने भएको हो । 

    शैक्षिकसत्र २०८२ वैशाखदेखि सञ्चालन हुनेगरी तयारी गरिएको गाउँपालिका अध्यक्ष भैरवबहादुर साउदले बताउनुभयो । उहाँले पालिकाभित्र स्थायी बसोबास भएका आमा र बुबा दुवै नभएका आर्थिक रुपले विपन्न बालबालिकाका लागि निःशुल्क आवासीय सुविधासहितको पठनपाठनको व्यवस्था गरिने बताउनुभयो  ।

    उक्त कार्यक्रम सञ्चालन गर्नका लागि गाउँपालिकाका पाँचै वडाभित्र स्थायी बसोबास भएका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यालय उमेर समूहका बालबालिकाले गाउँपालिकाका टुहुरा असहाय, आर्थिक रुपले विपन्न भएका विद्यार्थीका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि २०८१ निर्माण गरी तयारी गरिएको पनि अध्यक्ष साउदले बताउनुभयो  ।

    गाउँपालिकाको टुहुरा असहाय, आर्थिक रुपले विपन्न भएका विद्यार्थीका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि २०८१ अनुसूची १ बमोजिम सातदिने सूचना निकाली अनाथ बालबालिकाको लागत सङ्कलन पनि भइसकेको अध्यक्ष साउदले बताउनुभयो ।

    गाउँपालिकाको  गाउँ कार्यपालिकाबाट निर्णय गरी अनाथ बालबालिकालाई निःशुल्क पठनपाठन तथा खानबस्ने व्यवस्थाका लागि वैशाख, जेठ र असारका लागि चार लाख रुपैयाँ विनियोजित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताउनुुभयो । 

    बाँकी रकम आर्थिक वर्ष २०८२ को अधिवेशनबाट विनियोजित गरी व्यवस्था गरिने पनि प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाइ छ । 

    गाउँपालिकाको शिक्षा शाखाको सहजीकरणमा अनाथ बालबालिकालाई निःशुल्क पठनपाठनका लागि पहल भइरहेको गाउँपालिका शिक्षा शाखाप्रमुुख विवेक देउवाले बताउनुभयो । 

    आवासीय रुपमा सञ्चालन गर्न र व्यवस्थापन गर्नका लागि एकजना कर्मचारी गाउँपालिकाले व्यवस्था गर्ने तथा बाँकी पठनपाठनका लागि सम्बन्धित विद्यालयले गर्नुपर्ने शिक्षा शाखाप्रमुख देउवाको भनाइ छ । 

    –रासस