२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

बरालको कविता संग्रह ‘समयका स्वर’ विमोचित



  • आफ्नै खबर
  • २८ चैत २०८१ बिहिबार (४ हप्ता अघि)
  • पाठक संख्या ८२
  • काठमाडौं/ कवि गोपाल बरालको कविता संग्रह समयका स्वर विमोचन गरिएको छ । गोकर्णेश्वर नगरपालिका-५ मा आयोजित कार्यक्रममा साहित्यकार पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा कविता संग्रहको विमोचन गरिएको हो । 

    संग्रहमा २०३८ सालदेखि हालसम्म सिर्जना गरिएका ४३ वटा कविता समावेश गरिएको छ । 

    संग्रहको समीक्षा गर्दै समाचोलक प्राडा हेमनाथ पौडेलले कवि बराल साहित्य सिर्जनामा भन्दा राजनीतिमा बढी सक्रिय भएकाले उहाँको साहित्यीक यात्रा राजनीतिक चेपुवामा परेको बताउनुभयो । प्राडा पौडेलले भन्नुभयो, ‘कविताहरुमा राजनीतिले पारेको प्रभाव प्रष्ट रुपमा देखिएको छ । समयचेत अनुसारका अनभुतिहरु समेटिएका छन् ।’ 

    उहाँले थप्नुभयो, ‘साहित्यलाई समाजको ऐना मान्ने हो भने गोपाल बरालका कविताहरु सही अर्थमा समाजको ऐना नै हुन् ।’ कवितामा प्रयोग भएका शैली र प्रस्तुति सोझो रहेको बताउँदै उहाँले भन्नुभयो, ‘देखेको विषयवस्तुमा कलात्मकता कम भएको बुझिन्छ । राजनीति, नेता र नेतृत्वको शैलीलाई राम्रो प्रहार गर्नुभएको छ । बस्तुविम्व भन्दा बढी विचारविम्व छन् ।’

    यस अघि नै कवि बरालको संस्मरणात्मक निबन्ध संग्रह प्रकाशित भइसकेपनि कविता संग्रह पहिलो भएकोले यसमा भएका सामान्य त्रुटि केलाउनु आवश्यक नभएको उहाँको भनाइ थियो । 

    अर्का समालोचक सीता ओझाले संग्रहित कविताहरु कुनै फुलबुट्टा नभरी समाजको यथार्थ चित्रण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कवितामा राजनीतिले समाजको अपेक्षालाई सम्बोधन नगर्दा देखिएका कुण्ठा वा आक्रोशका व्याख्या छन् ।’

    कवितामा उमेर समूहबिचको खालीपनले समाजमा पारेको प्रभाव, वर्गीय विभेद, आर्थिक विचलन जस्ता पक्ष समेटिएको उहाँको भनाइ थियो । 

    कवि बरालले कविता संग्रहको समिक्षाले आफुलाई आउँदो दिनमा परिस्कृत कविता लेख्न प्रोत्साहन दिएको  बताउनुभयो । किताव देशका प्रमुख शहरका पुस्तक पसलमा पुर्याउने तयारी गरिरहेको उहाँको भनाइ थियो ।